काठमाडौं । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन् ।
यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् ।
महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चार वटै ढोका खुला गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा गोवर्द्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधु सन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ ।


Leave a Reply