मैदानमा सन्दीपको कमब्याक र रविका ‘१२ भाइ’को अट्याक

म क्रिकेटको नियमित दर्शक होइन । यो ‘भलादमी खेल’ राम्ररी बुझ्दा पनि बुझ्दिनँ (त्यसैले ल्वान्छरो नाम राखेको होइन नि !) । तर, हिजो चाहिँ चाख लागेर नेपाल र नामिबियाको क्रिकेटका समाचार केही अनलाइनमा नियालेँ । यसक्रममा एउटा मिडियामा प्रकाशित समाचारमा उल्लेखित एक वाक्यांशले झण्डै बेहोश बनायो ।

नेपालले नामिबियालाई हराएको समाचारको पेटबोलीमा लेखिएको थियो- ‘नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेले ६६ रन खर्चिएर ३ विकेट लिए ।’

आफैं पत्रकार नभए पनि पत्रकारिताका सामान्य सिद्धान्तहरु मैले पनि बुझेको छु । सरकारी सेवामा प्रवेश गर्नुअघि म पनि एउटा साप्ताहिक पत्रिकाको नियमित स्तम्भकार थिएँ । क्रिकेट राम्ररी नबुझे पनि यति थाहा छ कि मैदानमा बलिङ गर्ने र विकेट लिनेलाई बलर भनिन्छ । माथिको वाक्यांश रिपोर्टरले दिउँसै समस्यामा परेर लेखेको हो वा सम्पादन गर्नेले आफ्नो रिस पोखेको हो ।

यदि होसहवासमा लेखिएको हो भने चाहिँ यो पीत पत्रकारिताको एउटा नमुना हो । देशको प्रतिनिधित्व गर्दै खेलिरहेको खेलाडीलाई समाचारमा जसरी सम्बोधन गरियो, त्यो भर्त्सनायोग्य छ । यो ‘समाचार’का नाममा व्यक्तिले आफ्नो कुण्ठाको वमन गरेको हो ।

पछिल्ला दिनहरुमा जुन रुपमा केही मेनस्ट्रिम मिडियाहरुले सन्दीपलाई लखेटिरहेका छन्, त्यो सिलसिला हेर्दा भोलि ‘नाबालिग बलात्कारका अभियुक्तको सानदार बलिङमा नेपालको जीत’ भनेर हेडलाइन आयो भने पनि आश्चर्य नमान्दा हुन्छ ।

त्यसो त यसरी लेखिनु एकदमै अनपेक्षित भने थिएन । पछिल्ला दिनहरुमा जुन रुपमा केही मेनस्ट्रिम मिडियाहरुले सन्दीपलाई लखेटिरहेका छन्, त्यो सिलसिला हेर्दा भोलि ‘नाबालिग बलात्कारका अभियुक्तको सानदार बलिङमा नेपालको जीत’ भनेर हेडलाइन आयो भने पनि आश्चर्य नमान्दा हुन्छ । आफूलाई देशकै एक नम्बर मान्ने मिडियाले अनगिन्ती पटक यस्तै शैलीमा हेडलाइन बनाइसकेको छ । ती मिडियालाई प्रश्न गर्न चाहन्छु- हिजो अग्नि सापकोटा ४ वर्षसम्म सभामुख हुँदा किन उनलाई ‘हत्या अभियुक्त’ भनेर हेडलाइनमा लेख्न सकेन ? मुद्दा त उनीमाथि पनि सर्वोच्च अदालतमा चलिरहेको थियो र छ । अनि, पाँच हजार नेपालीको हत्या गरेको जिम्मेवारी लिने प्रचण्ड प्रधानमन्त्री बन्दा ‘नरसंहारका अभियुक्त प्रधानमन्त्री नियुक्त’ भन्ने हेडलाइन राख्न किन हात काँप्यो ?

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक पत्रकार सम्मेलनमा नेपाली मिडियाहरुको खोइरो खनेका थिए । उनले बोलेका धेरै कुरा अतिरञ्जित र अपुष्ट पनि थिए । तर, एउटा सत्य चाहिँ उनले उजागर गरिदिए कि नेपाली सञ्चार क्षेत्रमा अवाञ्छित सिन्डिकेट छ । उनीहरुले अब ‘कसलाई सिध्याउने ?’ भनेर साझा एजेन्डा तय गर्छन् र एकमुख भएर पालैपालो खनिन्छन् । ‘१२ भाइ’ भनेर उनले प्रवृत्तिमाथि इंगित गरेका हुन सक्छ ।

अहिले सन्दीप प्रकरणले लामिछानेको सो अभिव्यक्तिलाई गजबसँग सावित गरिदिएको छ । रवि लामिछानेले भनेका ‘१२ भाइ’ अर्थात् आफूलाई मेनस्ट्रिम ठान्ने केही कागजी र अनलाइन मिडियाको सञ्जालले सन्दीपलाई पालैपालो दुत्कार्ने अभियान चलाइरहेका छन् ।

समाचार यसरी लेखिएका छन् मानौं यो देशका सबैभन्दा खुंखार अपराधी सन्दीप लामिछाने नै हुन् र उनलाई नसिध्याइकन सुशासन आउँदैन ।

फैसला नहुञ्जेल क्रिकेट खेल्न पाएनन् भने सन्दीपको करिअर नै धरापमा पर्ने निश्चित छ । नेपालमा एउटा मुद्दाको फैसला हुन कहिले महिनौं त कहिले वर्षौं लाग्छ । १० वर्ष फैसला नभएका मुद्दाहरु थुप्रै छन् । त्यही भएर उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने फैसला गर्दा अरु विभिन्न बन्देज लगाए पनि क्रिकेट खेल्न रोक लगाएन ।

कुनै व्यक्तिलाई सिध्याउन उसको ज्यानै लिनुपर्दैन । एउटा खेलाडीलाई सिध्याउनुको अर्थ उसको करिअरको बर्बादी हो । सन्दीप भर्खर २४-२५ वर्षमा हिँडिरहेका र उर्बर करिअर भएका प्रतिभा हुन् । संसारमा धेरै खेलाडीहरु छन्, जसलाई उनलाई जस्तै आरोप लाग्यो । तर पनि मुद्दा लड्दै राष्ट्रिय टीमबाट खेलिरहे । क्रिकेटको विश्वव्यापी नियमन गर्ने संस्था आईसीसीले समेत अनुमति दिएर सन्दीपलाई राष्ट्रिय टीममा राखिएको हो । तर, सन्दीप मैदान फर्किँदा केही ट्वीटे अभियन्ता र फेमिनिजमको खेतीपाती गर्ने गिरोहलाई खपिनसक्नु भएको छ । भोलि सन्दीपकै प्रदर्शनको बलमा नेपालले खेल जित्यो भने उनीहरुलाई १०४ डिग्रीको ज्वरो नआउला भन्न सकिन्न । यो कुन हदसम्मको कुण्ठा हो ? कतिसम्मको पूर्वाग्रह हो ?

सन्दीपमाथि यौनजन्य कसुरको आरोप छ, त्यसमा दुईमत छैन । तर, आरोप सत्य हो कि होइन भन्ने कानूनी निरुपण हुँदैछ । उनी अपराधी प्रमाणित भइसकेका व्यक्ति होइनन् । यदि अदालतले दोषी ठहर गर्‍याे भने कानूनबमोजिम सजाय भोग्नबाट कसैले रोक्न सक्दैन ।

तर, दोषी प्रमाणित नहुँदै उनको चरित्रहत्या गर्ने र करिअर सिध्याइदिने लाइसेन्स कुनै दिदीहरु वा भाइहरुलाई दियो कसले ? उनीहरुले सन्दीपलाई यसरी डामिसके कि अब अदालतको फैसलाबाट सफाइ पाए भने पनि उनको चरित्रमाथि लागेको दाग सहजै मेटिन सक्दैन ।

योमात्र होइन । यदि मुद्दाको फैसला नहुञ्जेल क्रिकेट खेल्न पाएनन् भने सन्दीपको करिअर नै धरापमा पर्ने निश्चित छ । नेपालमा एउटा मुद्दाको फैसला हुन कहिले महिनौं त कहिले वर्षौं लाग्छ । १० वर्ष फैसला नभएका मुद्दाहरु थुप्रै छन् । त्यही भएर उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने फैसला गर्दा अरु विभिन्न बन्देज लगाए पनि क्रिकेट खेल्न रोक लगाएन ।

न्यायमूर्तिहरुले यति विवेक पुर्‍याए । तर, अदालतको फैसलालाई अनदेखा गर्दै कथित १२ भाइ र केही ट्विटे अभियन्ताहरु सन्दीपले खेल्नै पाउनुहुँदैन भनेर दागा धरिरहेका छन् । मानौं यदि १० वर्ष फैसला लम्बियो भने त्यतिञ्जेल सन्दीप घरमै जुम्रा मारेर बस्नुपर्ने ? १० वर्षपछि यदि सफाइ पाए भने उनको क्रिकेट करिअरको बर्बादी, नैतिक पतन र आर्थिक क्षतिको भर्पाइ १२ भाइ र ट्वीटे अभियन्ताले गर्न सक्छन् ?

हुन त रविले भनेका १२ भाइले जति दागा धरे पनि उनीहरुले लेखेका कुरा जनताले पत्याउन छाडिसके । यदि पत्याउँदा हुन् त यतिबेला सन्दीपको विरुद्धमा सडकमा विशाल जुलुसहरु निस्किने थिए । हिजो रवि लामिछानेको विरुद्धमा दोस्रो जनआन्दोलन नै हुने थियो । तर, एउटा मुठ्ठीभरको ‘ट्विटे समूह’ (जुन समूहका एकजनाले १० वटासम्म फेक ह्याण्डल चलाउँछन्) र उनीहरुलाई काँध थाप्ने कांग्रेसका दुई महामन्त्रीबाहेक कोही पनि बहकिएका छैनन् ।

हुन त रविले भनेका १२ भाइले जति दागा धरे पनि उनीहरुले लेखेका कुरा जनताले पत्याउन छाडिसके । यदि पत्याउँदा हुन् त यतिबेला सन्दीपको विरुद्धमा सडकमा विशाल जुलुसहरु निस्किने थिए । हिजो रवि लामिछानेको विरुद्धमा दोस्रो जनआन्दोलन नै हुने थियो ।

बरु यसले उल्टो सन्दीपमाथि सहानुभूति बढाइदिएको छ । हिजो सार्वजनिक यातायात नचल्दा पनि त्रिवि मैदानमा ओइरो लागेका दर्शकमध्ये अधिकांश सन्दीपलाई हौसला दिन गएका थिए । उनीहरुले सन्दीपको विकेटमा जति खुशी अरु विकेटमा मनाएनन् । यसले पनि थाहा हुन्छ कि सीमित मिडियाले जनमत प्रभावित पार्न सक्ने हैसियत अब राख्दैनन् । उनीहरुका टिप्पणीमा र समाचारमा आएका प्रतिक्रिया हेर्दा पनि यसको पुष्टि हुन्छ ।

महिला हिंसाका घटनाप्रति अत्यधिक संवेदनशीलता आवश्यक छ । यसमा दुईमत भएन । तर, यहाँ महिला हिंसाका नाममा घटनाहरुलाई तोडमोड र अतिरञ्जित गर्दै आफ्ना निहित स्वार्थपूर्ति गर्नेहरुको कमी छैन । यिनीहरु केही यस्ता छन्, जो आफूलाई महिलाका मुद्दा बेचेर दाताहरुबाट डलर झार्न पल्केका छन् । उनीहरुले यौन हिंसाका मुद्दामा हामीमात्रै संवेदनशील छौं भन्ने देखाएर डोनरहरुसँग हात थाप्न पनि सन्दीप प्रकरणलाई यसरी उछालेको नहोला भन्न सकिन्न ।

यतिबेला पीडित भनिएकी किशोरीमाथि अरुले हैन यिनै मिडियाका केही भाइ र कथित महिलावादी अभियन्ताले ज्यादती गरिरहेका छन् । उनलाई हुँदै नभएको त्रास देखाएर महिनौंदेखि माइती नेपालमा बन्धक बनाएर राखिएको छ । अनुराधा कोइरालाको अनुमति नलिई उनलाई भेट्नसमेत पाइँदैन । पहिल्यै उत्तर घोकाएर सेलेक्टेड मिडियामा अन्तर्वार्ता दिन लगाइन्छ र त्यसलाई फूलबुट्टा भरेर प्रकाशित गरिन्छ । यसरी एकतर्फी बयानका आधारमा समाचार बनाउँदै गर्दा मुद्दा प्रभावित हुन्छ कि हुँदैन, पत्रकार आचारसंहिता उल्लंघन हुन्छ कि हुँदैन भन्ने प्रश्न गराैं कि नगरौं ? किनकि केही मिडिया आफूलाई प्रश्नभन्दा धेरै माथि साेच्छन् ।

अन्त्यमा यति भनौं, न्याय दिने अन्तिम दैलो भनेको अदालत हो । अदालतमा रहेका न्यायमूर्ति नै हुन् । उनीहरुले यस्ता मिडियाको बहकाउमा नपरिकन निष्पक्ष न्याय दिऊन् । दूधको दूध पानीको पानी छुट्याऊन् । मुद्दाको फैसला चाँडो होस् । सन्दीपले गल्ती गरेका हुन् भने सजाय पाऊन्, होइन भने न्याय पाऊन् ।

(ल्वान्छरो नेपाल सरकारका उच्च अधिकृत हुन् । उनको आग्रहमा वास्तविक नामको साटो लेखकीय नाम राखिएको हो । उनले लेखेका विचार निजी हुन् ।)

Comments

8 responses to “मैदानमा सन्दीपको कमब्याक र रविका ‘१२ भाइ’को अट्याक”

  1. Ramhari Thapa Avatar
    Ramhari Thapa

    त्याे पत्रिकालाई बहिष्कार गर्नु पर्छ , उदाउँदाे सितारा माथि हिलाे छ्याप्ने दुष्साहस कसरी गर्याे ?

  2. गाप्ले Avatar

    जुन दिन तिम्राे छाेरी, चेली र बहिनी वा आफन्तमाथि सन्दील लामिछानेले ेकाे जस्ताे घटना घट्छ नि , अनि उ महान कुनै पदवा सेलिब्रेटी वा उच्च पदस्थ व्यक्ति हाला रे, त्यतिबेला तिमी यही भन्छाै कि मेरै छाेरी,चेली वा बहिनीकाे गल्ती हाे , कहाँ उहालाई बल्कारी भन्न मिल्छ ? आट छ ? मुला। सन्दीपले रेप गरेकाे हाेटलकाे नाम काठमाडाैं इन हा जुन सिनामंगलस्थित शारदामावि नजिकै छ। गएर साेध मुला, प्रमाणसहित फुटेज पाउँछ। अनि तिमी बलत्कारीकाे संरक्षण गर्ने ? कानुन क्रिकेटरलाई नलाग्ने भन्ने छ र ?

    1. Hom Gurung Avatar
      Hom Gurung

      सन्दिप लामिछानेको नाम नभनि समाचारमा नाबालिग बलत्कारी भन्नू मुलधारको पत्रतिकालाई कत्तिको जायज हो जबकि आरोपितको बारेमा चित्त नबुझे छुट्टै स्तम्भमा जति बीस वमन गर्न मन लाग्छ गरे छुट छ तर नेपाल राष्ट्रिय क्रिकेट टिमलाई सन्दिप लामिछानेले प्रतिनिधित्व गर्दै नामिविया माथि सानदार जित हासिल गर्दा बलत्कारी भनेर समाचार बनाउनु सरासर पित पत्रकारिताको खराब नियत त्यसै बुझ्न सकिन्छ।

    2. सुजल चन्द Avatar
      सुजल चन्द

      हैन यो बाहेक भन्न केही छ ?? तेरो आमा तेरो दिदी बहिनी छोरिचेली ?? अलिकति मानव भएर सोच सजाय दिनु भनेको उस्को जीवन नै वर्बाद पार्नु हैन उस्लाई सुधार्नु र अझै धेरै जिम्मेवार र नैतिकवान बनाउनु हो ।। न्यायको निरुपण गर्ने लोकतान्त्रिक समाजमा अदालत हो तिमी को हौ ?? अलिकति लिदि भए सोच्नु

  3. Kamal Rokaya Avatar
    Kamal Rokaya

    यस्ता बिबिध कृयाकलापले गर्दा स्वतन्त्र पत्रकारिको धज्जि उडाउदै छन । यि 12 भाइ कुपुहरुले

  4. Santosh Avatar
    Santosh

    १२ भाइलाइ गोले दे सरकार भन्नु भन्दा त १२ भाइको गोलि खा सरकार
    १२ भाइले देश, न्यायलय, सरकार चलाएर निति र एेन बनाए

  5. Babu Ram Nepali Avatar
    Babu Ram Nepali

    संसारको सबैभन्दा लोकप्रिय गायक माइकल ज्याक्सन तथा बक्सर माइक टाइसन जस्ता सेलिब्रेटीहरु त यौन दुराचारको कारण आफ्नो सम्पुर्ण करिअरलाई तिलान्जली दिनुपरेको थियो । हाम्रो देशमा कस्ता मानवहरु बस्दोरहेछन् भन्ने यावत घटनाहरुले छर्लङ्ग पारेका छन् । सन्दीप सफाइ पाइसकेका अभियुक्त होइनन् यीनलाई राष्ट्रिय टोलीमा हाल्नु नै घोर आपत्तिजनक हो ।
    एउटा काल्पनिक लेखक तयार पारेर नाम पनि उल्लेख गर्न नसक्ने लाछी सम्पादकले अरुलाई पत्रकारीता सिकाउने जस्तो लज्जास्पद पीत पत्रकारिता अरु हुन्छ रव?

  6. Pk Bhandari Avatar
    Pk Bhandari

    सही कुरा गर्नु भो गल्ती गरे नगरेको हेर्ने अदालत छदै छ महिलाले आरोप लगाएको हो भन्दैमा न्यायमूर्ति अगाडी आफै फैसला दिने एक थरी मात्र कुरा मिडियामा बताउनु घातक छ। पुरुष बाट महिला बलात्कार भएका घटना सग सगै झुठो आरोपमा या षड्यन्त्र उद्योगमा फसाइएको पनि धेरै छन् दुवै तरी न्यारेटीव सुनिनु पर्छ। ल्वानछरो वेस्ट स्तम्भकार हुन मेरो सलाम छ हजुर लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *