दाङ । स्कुटर चोरीमा संलग्न व्यक्तिलाई बचाएको आरोप लागेपछि घटना छानबिनका लागि समिति बनेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनपछि समिति बनेको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी टेकप्रसाद राईले घटनाबारे ध्यानाकर्षण भएकाले छिट्टै यथार्थ छानबिन गर्न आफूले निर्देशन दिइसकेको बताए ।
घोराहीको मुख्य चोक बिपी चोक नजिकै रहेको टीभीएस शोरुमबाट दिउँसै स्कुटर चोरिएको थियो । प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडेको समाचार सार्वजनिक भएका थिए
आईजीपी सिंहको निर्देशनपछि एसपी नवरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रमुख राईले बताए ।
उनले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ता भित्र प्रतिवेदन पेश गर्ने समय दिइएको बताए । चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए सबैलाई कारबाही हुने पनि उनले बताएका छन् ।
गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोबेल ट्रेडिङ प्रालीको घोराही–१५ बिपीचोकको टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सञ्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सञ्जालमा आक्रोशसहित लेखेका थिए ।
शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रवार दिउँसो दुई लाख ९५ हजार ९ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको हो ।
चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै आएका छन् र
उनले सीसी क्यामरा फुटेजसहित सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटिभी फुटेजको सहारामा चोरीमा संलग्न घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटी चोरीमा संलग्न व्यक्तिलाई मुद्दा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए ।

Leave a Reply