६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै सन्दीप, घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनको आशा

काठमाडौं । सन्दीप लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दैछन्। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु हुने त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा सन्दीप नेपाली टोलीका महत्त्वपूर्ण सदस्य रहने छन् । उनीमाथि नेपाली क्रिकेट समर्थककाे ठूलाे भराेसा छ ।

 गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीप पक्राउ पर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च लयमा रहेका थिए। प्रशिक्षक मन्टी देसाई सन्दीपलाई आफूले के गर्नुपर्छ भनेर राम्रोसँग थाहा भएको बताउँछन्।

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।

सन्दीपले यो फर्म्याटमा एकै खेलमा ६ पटकसम्म कम्तीमा ४ विकेट र दुई पटकसम्म कम्तीमा ५ विकेट लिएका छन्। उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेट लिएको इतिहास छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ४.०२ रहेको छ।

यस्तै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा ८५ विकेट लिएका छन्। उनी सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।

सन्दीपले एकपटक कम्तीमा ५ विकेट र दुई पटक कम्तीमा चार विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ६.४ रहेको छ।

उनले लिस्ट ए क्रिकेटमा ५४ खेल खेलेकामा एक सय १५ विकेट लिएका छन् भने टी–२० क्रिकेटमा एक सय ३६ खेलमा एक सय ९३ विकेट हात पारेका छन्।

सन्दीपसँग भारतको इन्डियन प्रिमियर लिग–आईपीएल र अस्ट्रेलियाको बिगबास देखि विश्वका सबैजसो व्यावसायिक क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ। सन्दीपलाई हालै मात्र पाकिस्तानका विश्व चर्चित ब्याट्सम्यान मोहम्मद रिजवान भेट्न आएका थिए।

सन्दीपको हौसला र मनोबल बढाउन रिजवान नेपाल आएको बुझिएको छ। सन्दीप जारी विश्वकप लिग–२ मा सर्वाधिक विकेट लिने बलरको सुचीमा २० खेलमा ४२ विकेटसहित चौथो स्थानमा छन्।

ओमानका बिलाल खानले ३५ खेलमा ७६, अमेरिकाका नेत्रभाल्करले ३५ खेलमा ५८, ओमानमा जिसन मक्सुदले ३४ खेलमा ४७ र नामिबियाका बर्नाड मार्टिनस स्कोल्ट्जले २९ खेलमा ४४ विकेट हात पारेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *