बुबाको स्मृतिमा शक्ति गौचनले थालेको क्रिकेट अभियान

रुपन्देही । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले आफ्ना बुवा स्व. खड्गप्रसाद गौचनको स्मृतिमा सुरु गरेको यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौं इभेन्टको अन्तिम तयारी पूरा भएको छ । फागुन १ गतेदेखि रुपन्देहीको देवदह क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवलमा पत्रकार सम्मेलन गरी गौचनले जानकारी दिएका हुन् ।

यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराइजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समूहमा राखेर ८ टिमबीच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समूह बीच ३-३ गरी कुल १५ खेल हुनेछ । प्रतियोगिताको लिग खेलहरू २५ ओभरको हुनेछ भने फाइनल खेल ४० ओभरको खेलाइने छ ।

जिल्लामा विभिन्न उमेर समूहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरी प्रतियोगिताहरू गरिरहेका छन् । पाँचौँ संस्करणमा पुरस्कार राशि ३० हजार रुपैयाँ रहेको छ । फाइनल खेल फागुन ११ गते सिद्धार्थनगर क्रिकेट रङ्गशालामा हुने गौचनले बताए ।

गौचनले बुबाको स्मृतिमा आयोजना गर्दै आएको क्रिकेट प्रतियोगितालाई नेपालमा क्रिकेट खेलाडी उत्पादन गर्ने थलो बनाउने घोषणा गरेका छन् । स्थानीयस्तरमा खेलाडी उत्पादन नगर्दासम्म क्रिकेटको विकास हुन नसक्ने बताउँदै उनले त्यसमा आफूले समय खर्चेको बताए ।

उनले १-२ वर्षभित्र नेपालको राष्ट्रिय टिममा रुपन्देहीका आधाभन्दा बढी खेलाडी खेलेको देख्न पाउनेगरी अभियान सुरु भएको दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *