काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक टीकाटिप्पणीहरु व्यहोर्ने नेतामध्ये पर्छन् कांग्रेस महामन्त्री गगन थापा । उनीमाथि गाली र प्रशंसा सराबरी आउँछन् । आज एक कार्यक्रममा थापाले सामाजिक सञ्जालमा आउने गालीगलौजलाई लिएर आफ्नो धारणा पोखे ।
अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि बहानामा संकुचित बनाउन नहुने विषयमा उनी बोलिरहेका थिए । सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई सहज तरिकाले प्रतिवाद गर्नुपर्नेमा उनको जोड थियो ।
थापाले स्वास्थ्यमन्त्री हुँदाको एउटा पुरानो सन्दर्भ सुनाएः
एकपटक नेपालगञ्जमा गएको थिएँ । मलाई एकदमै माया गर्ने एकजना भाइ थियो । उसले दाइलाई एउटा सरप्राइज छ भन्दै थियो । के सरप्राइज भनेको एकैछिनमा झ्याम्मै ५० किलोको माला ल्याएर लगाइदियो । बेलुका काठमाडौं फर्किँदासम्म त सामाजिक सञ्जालमा गालीको वर्षा । के–के न गर्छु भन्ने मन्त्री ५० किलोको माला लगायो भनेर कति गाली गरे गरे ! पहिला यस्तै गाली आफूले अरुलाई गरियाथ्यो नि त ! अहिले आफूले भेटें । यो स्वाभाविक पनि हो ।
त्यही माला लगाएकै दिन बा-आमालाई एयरपोर्ट पु¥याउन गएको थिएँ । फर्किँदा गाडीमै पेट दुखेर फत्र्याक फत्त्रयाक परें । श्रीमतीले ग्राण्डी हस्पिटल पु¥याइछिन् । एक दिन अस्पताल बसेर फर्किएँ । भोलिपल्टदेखि त्यसमा पनि गालीको ओइरो । स्वास्थ्यमन्त्री भएर ठूल्ठूला कुरा गर्ने अनि आफ्नो उपचार चाहिं ग्राण्डीमा गराउने ? भनेर मलाई छारस्ट गाली गरे ।
महामन्त्री थापाले ट्विटर र फेसबुकमा आफूलाई आउने गाली पढ्दा बैराग्य नै उत्पन्न हुने सुनाए ।
‘मेरो बारेमा लेखिएका ट्विट, स्टाटस, मलाई गरिएको गाली बेलुकाबेलुका बसेर पढें भने कमण्डलु लिएर हिँडौं जस्तो हुन्छ । मेरो त संसारै केही रहेनछ, म त मान्छे नै होइन रहेछु, यो धर्तीमा किन आएछु भन्ने लाग्छ । कसैले दलाल भन्छन्, कसैले भ्रष्टाचारी भन्छन् । कसैले बाख्राका कुरा गर्छन् । के बाँकी हुन्छ र ? मेरोबारेमा बोल्नेहरुलाई मैले पनि आफ्ना मान्छे पठाएर कारबाही गर्छु भनें भने त गृहयुद्धै हुने भयो नि त ! यसलाई कसरी लिने भन्ने कुरा पनि हो ।’
थापाले सूचना प्रविधि कानूनमा सामाजिक सञ्जालबाट आपत्तिजनक गाली गर्नेलाई चर्को सजायको व्यवस्था राखिएकोमा आफूहरुले विरोध जनाएको सम्झिए ।
‘सूचना प्रविधिको कानून प्रस्तावित हुँदै गर्दा सामाजिक सञ्जालमा कसैका विरुद्ध लेख्यो भने उसलाई पाँच वर्ष कैद र १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव थियो । त्यो व्यवस्था सुरुमा कसैले याद गरेको थिएन । संसदमा सबैभन्दा पहिले म बोलेको हो । कांग्रेसका साथीहरुलाई राखेर संसदीय समितिमा फरक मत राखियो । माइतीघरमा पनि विरोध जनाउन पुगें ।
त्यो कानून बनेको भए सबैभन्दा बढी फाइदा त मलाई हुन सक्थ्यो होला नि ! आपत्तिजनक कुराहरु शक्तिमा भएको मान्छेका बारेमा लेखिन्छ । के आपत्तिजनक हो र के आपत्तिजनक होइन भन्ने शक्तिमा भएकै मान्छेले ठहर गर्ने भए । हामी कुनै न कुनै शक्तिमा हुन्छौं नै । यसको अर्थ हाम्रोबारेमा लेखिस् भने थुन्दिन्छु भनेको त हो नि !
सबैभन्दा बढी लेखिनेमध्येको म थिएँ । सबैभन्दा फाइदा मलाई हुन्थ्यो । तर, मेरोबारेमा लेखिने कुराहरु, मलाई लगाउने लाञ्छनाका कुराहरुलाई रोक्न खोज्दै गर्दा अभिव्यक्ति स्वतन्त्रतालाई हान्छ र प्रश्न उठाउने अधिकारलाई कुन्ठित गर्छ । त्यसैले सार्वजनिक ओहदामा बसेकाले दुईवटा कुरा सहेर भए पनि प्रश्न उठाउने अधिकारलाई सुरक्षित राख्नुपर्छ भनेर कानूनको विरुद्धमा उत्रिएका हौं ।
हाम्रोबारेमा लेखियोस्, केही छैन । तर, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनुभएन । म अहिलेसम्म कति भारी बोकेर हिँडिरहेको छु । कतै जाँदा खसी करायो भने पनि आफूलाई सम्झेर झस्किन्छु । साँच्चिकै भनेको मैले ! यस्तो लाग्दै गर्छ, हिँड्दै गर्ने, भन्दै जान्छन्, गर्दै जाने हो । अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गरेर यतातिर सोचें भने घातक हुन्छ ।
माननीय शिशिर खनाल शिक्षामन्त्री हुँदा एक जना नेताले उहाँलाई एक विद्यालयको सञ्चालक भनेर दाबी गर्नुभयो । उहाँ टिच फर नेपालमा आवद्ध हुनुभएकाले त्यसो भन्नुभएको होला । टिच फर नेपालको बोर्डमा बरु म छु । तर, उहाँ हुनुहुन्न । शिशिर खनालजीले सामाजिक सञ्जालबाटै च्यालेन्ज गर्नुभयो आरोप पुष्टि गर्न । तपाईंले आरोप लगाउनुभो, ल पुष्टि गरिदिनुस् न भन्नुभयो । हामीले गर्ने त्यही हो ।
कतिपय पूर्वाग्रह हुन्छन्, कतिपय आरोप हुन्छन् र कतिपय फरक मत हुन्छन् । लाञ्छना लगाउनेलाई पुष्टि गर भन्ने हो । तपाईंलाई मैले लाञ्छना लगाएँ भने मैले पनि पुष्टि गर्नुपर्छ । मलाई लगाएको लाञ्छना पुष्टि गर्नुपर्ने, मैले लगाएको लाञ्छना पुष्टि गर्नु नपर्ने भन्ने हुँदैन ।

Leave a Reply