संसद भवनभित्रै ‘प्रेस मीट’ कक्षको व्यवस्था नियमावलीमै राख्न नेम्वाङको प्रस्ताव (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा नेम्वाङले संसद भवनको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने तर्क गरे ।

सो कक्ष दलका नेता, सांसदहरू र संघीय संसद सचिवालयका पदाधिकारीहरूलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने उनको भनाइ थियो ।

उपाध्यक्ष नेम्वाङले भने, ‘त्यो गेटभन्दा बाहिर क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने । उहाँहरू बिचरा कुदिरहनुपर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ । त्यसकारण यत्रो त गरिरहेका छौं हामीले । प्रेस मिट रूम एउटा भव्य बनाउन । जहाँ केही पर्‍यो माननीय सदस्यहरू पनि जानु हुन्छ । दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरू पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो । त्यहाँ जानु हुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’

पत्रकारहरूले संसदको मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *