काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट संविधानको रक्षा नहुने दाबी गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदको जुहारी परेपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यस्तो दाबी गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हामीलाई सन्चो भएको छ । हाम्रो काम पनि उहाँहरुले नै गरिदिनुभएको छ । विपक्षी दलको काम पनि सत्ता पक्षले गरेपछि हाम्रो काम थोरै हल्का भएको छ ।’
अहिलेको आधारभूत विषयमै मतान्तर भएको सरकार भएकाले कसैकाे बारेमा कसैसँग कुरा नमिल्ने उनले तर्क गरे ।
सांसद लेखकले भने, ‘एकथरि सरकारमा रहेका साथीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गरिरहेका छन् । अर्कोथरि यो देशमा गणतन्त्र त कुनै हालतमा हुँदैन भनिराख्नुभएको छ । आजै तपाईंहरुले सुनिराख्नुभयो राजतन्त्र ल्याउने कुरा भइरहेको छ । अर्कोथरि संघीयता कुनै हालमा हुँदैन भनिरहेका छन् । यो त तमासाको सरकार भयो ।’
आजको प्रतिनिधिसभाको बैठक हेरेपछि यो सरकारले देश र जनताको लागि केही गर्न नसक्ने प्रस्ट भएको उनले टिप्पणी गरे ।
उनले भने, ‘मैले त सय दिनसम्म कुनै प्रतिक्रिया गर्दिनँ भनेको हो । तर, आज साथीहरु जुन रुपले प्रस्तुत हुनुभयो । त्यसले लक्षण राम्रो देखिएको छैन । यो सरकारबाट संविधानको रक्षा हुन्छ भन्ने विषयमै आशंका बढ्यो ।’

Leave a Reply