३४ वर्षको उमेरमा पुष्प खड्काले गरे व्रतबन्ध, विवाहको पनि तयारी (तस्बिरहरु)

काठमाडौं । अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका छन्। केही दिन अघिमात्र  जन्मघर कैलाली पुगेका खड्काले आज आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परा अनुसार  व्रतबन्ध नगरी विवाह गर्न मिल्दैन ।

सामाजिक सञ्जालमा एक्कासी हल्दी लगाउँदै गरेका तस्बिरहरु सार्वजनिक भएपछि धेरैले उनको विवाह हुन लागेको अड्कल गरेका थिए। गुपचुप रुपमा उनको हल्दी भइरहेको धेरैको अनुमान थियो।

तर सबैको अनुमानको खण्डन गर्दै पुष्पले सो तस्बिर आफ्नो व्रतबन्धको नै भएको बताएका छन्। उनी भन्छन, ‘यत्रो ठूलो भइसके। अहिले व्रतबन्ध गर्नुपर्दा लाज पनि लागिरहेको छ। त्यसैले कसैलाई थाहा नदिई व्रतबन्धको समापन गरौ भन्ने सोचेको थिए।’

पर्सि नै चलचित्रको सुट भएका कारण कपाल नखौरिएको पुष्पको भनाई छ। ‘मेरो पर्सि नै सुट भएकाले गर्दा पुरै कपाल नखौरिएको हो। व्रतबन्धमा थोरै ब्लेड मात्र लगाउँदा हुन्छ भन्ने कुरा आएपछि मैले पछाडि चाहिँ अलिअलि खौरिएको छु।’, उनले भने।

विवाह खुलाउनको लागि व्रतबन्ध गरेको हो? भन्ने प्रश्नमा हाँस्दै पुष्पले उत्तर दिए, ‘त्यहीँ नै भनौँ। कुरा त हुँदैछ तर फाइनल भएको छैन। विवाह गर्नु अघिपनि थुप्रै कामहरु हुन्छन् नि। ज्योतिष देखाउ। चिना हेराउ। कुण्डली मिलाउ। त्यसैले आजभोलि नै त सम्भव छैन तर छिट्टै नै विवाहको पनि खबर आउनेछ।’

     

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *