काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् । भुसालले नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरुलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् ।
भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आवद्ध एमाले नेताहरु पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् । उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दिपक प्रकाश भट्ट लगायतका नेताहरु घनश्यामसँग नजिक मानिन्छन् ।
अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् । नेकपा एमालेभन्दा नेकपा एस कुनै अर्थमा क्रान्तिकारी पार्टी नभएको र पाँच वर्षभित्रमा एमाले, माओवादी र नेकपा एस एकै ठाउँमा आउनुपर्ने भएकाले आफूहरु नेकपा एसमा नजाने तिम्सिनाले बताइन् ।
भुसालको भने तत्काल कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले उनी नेकपा एसमा जानुपरेको निकट नेताहरुले बताएका छन् । माओवादीले आफ्नो कोटाको सीट दिएर उम्मेदवार बनाएका भुसालले पार्टी रोज्ने बेला नेकपा एस रोजेकोमा माओवादी नेताहरुले पनि उनको आलोचना गरेका छन् ।
भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनित हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरुले बताएका छन् । भुसालले नेकपा एसको महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

Leave a Reply