रुपन्देही । दाङको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गेहेन्द्रबहादुर डाँगीलाई नै स्वीकार गरिएको छ ।
मन्त्रालयले डाँगीलाई पठाउँदा लमहीका वडा अध्यक्ष तथा कर्मचारीहरुले स्वीकार गर्न नसकिने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनस्वरुप दुई महिना नपाको कामकारबाही प्रभावित भएको थियो ।
प्रशासकीय अधिकृतमा डाँगी नै हुने गरी त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापछि वडाध्यक्ष र कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ ।
मन्त्रालयले तत्काललाई अर्को प्रशासकीय अधिकृत पठाउन नसकिने बताएपछि बहालमा रहेका डाँगीबाटै काम गराउन सहज वातावरण निर्माण गरिएको लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले बताए ।
उनले अधिकृतबेगर जनताका कामहरु रोकिएको र त्यसलाई निराकरण गर्न डाँगीलाई नै स्वीकारिएको बताए । त्रिपक्षीय छलफल र सहमति भएपछि आफ्ना आन्दोलनहरु फिर्ता भएको लमही नगरका प्रशासनिक प्रमुख महेश थापा ठेडीले बताए ।
सहमतिपछि बसेको कार्यपालिका बैठकले अधिकृत डाँगीलाई निरन्तरता दिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै अवैधानिक भन्दै ५ वटा नियुक्ति बदरसमेत गरिएको छ ।
बैठकले राजनीतिक सल्लाहकार, शैक्षिक सल्लाहकार, प्रेस संयोजक, प्रेस सल्लाहकार र स्वकीय सचिव पदलाई हटाएको वडा नम्बर १ का अध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।
नगर प्रमुख जोगराज चौधरीले सबैको भावना समेटेर विवाद समाधान भएको जानकारी दिए ।

Leave a Reply