माधव नेपालको प्रश्न- संसद विघटन गर्न पाइने गठबन्धन दलको मान्यता हो ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपालमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार बनेर आएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विकास निर्माण र काम हुन नसक्नुमा भ्रष्टाचार प्रमुख कारक देखाए ।

उनले भने, ‘गफ ठूलो प्रतिबद्धता ठूलो गर्ने । भ्रष्टाचारीको संरक्षक आफैं बन्ने गरेका छौं । भ्रष्टाचारमा संलग्न नहुने भ्रष्टाचारको कारण खोजी गर्ने, भ्रष्टाचार गर्नेलाई दण्डित गर्न सक्यौं भने अरु धेरै काम गर्न सक्छौँ । प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा खुशी लाग्यो ।’

उनले नेताहरू धेरै गफ काम कम गर्ने गरेको बताए । उनले गफले मात्रै नहुने भन्दै प्रधानमन्त्रीलाई गफाडी संस्कार नबोक्न सुझाव दिए ।

उनले भने, ‘मदन भण्डारी भन्नुहुन्थ्यो कुराले चिउरा भिज्दैन । त्यसैले कुरा थेरै गरौं काम धेरै गरेर देखाऔं । कुरा सुन्दा-सुन्दा हाम्रो कान थाकिसक्यो । वाक्क-दिक्क भइसक्यो । हामी गफमा कम छैनौं । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो गफाडी संस्कारलाई बोकेर अगाडि नबढ्नुस् । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’

प्रमुख प्रतिपक्षी दलले पनि विश्वासको मत दिएपछि सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नभएको नेता नेपालले बताए । उनले प्रधानमन्त्री संविधानप्रति प्रतिबद्ध भए नभएको भन्ने ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘मैलै यही रोष्ट्रममा सुनेँ । संसद विघटन गर्न पाइन्छ । यो मान्यता गठबन्धन दलको हो ? यो मान्यता हो भने त्यसले खतरनाक संकेत देखाउँछ । जसरी पहिले प्रतिनिधिसभालाई विघटन गरियो। के यो ब्रिटेन हो ? भारत हो ? पुरानो नेपाल हो ? यो गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ को सरकार हो ? यो २०८५ सालको देउवा सरकार हो ?’

उनले प्रधानमन्त्रीलाई आफूखुसी संसद् विघटन गर्ने छुट नदिएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रतिगमन नभएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

Comments

One response to “माधव नेपालको प्रश्न- संसद विघटन गर्न पाइने गठबन्धन दलको मान्यता हो ? (भिडिओ)”

  1. bharat kumar Thapa Avatar

    राजनीतिमा हिजो कसले नेतृत्व गरेको पार्टीलाई तेस्रो लिङ्गी भनेर कसलाई भनिन्थ्यो बोल्ने एक गर्ने अर्को नाता गोता उपल्लो पदमा पुराउन कसम खाएका मान्छे नि भन्छन् मान संमान चाहिने ले अरूको पनि ईज्जत् गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *