तराईका जिल्लामा बाक्लो हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । आज बिहानदेखि देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।अहिले नेपालकाे पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको छ । साथै काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ ।

हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ ।

काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रभावित भएको छ ।आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *