विश्वकप खेल्न नपाएका हालान्डको इङ्लिस प्रिमियम लिगमा निरन्तर गोल वर्षा 

काठमाडौं । नयाँ पुस्तामा केलियन एमबाप्पेलाई चुनौती दिन सक्ने खेलाडीका रूपमा हेरिएका एर्लिङ हालान्डले इङ्लिस प्रिमियर लिग फुटबलमा सबैभन्दा कम खेलमा २० गोल पुरा गर्ने कीर्तिमान बनाएका छन्।

म्यानचेस्टर सिटीले बुधवार राती लिड्सलाई ३-१ गोलले हराउँदा नर्वेका हालान्डले दुई गोल गरे। उनले यो सिजन प्रिमियर लिगमा १५ खेलमा २० गोल गरेका छन्। उनी यसै सिजन बुन्डेस लिगा क्लब बोरुस्सिया डर्टमुन्डबाट म्यान सिटीमा आबद्ध भएका हुन्। यो सिजन उनी युरोपियन गोल्डेन बुटको दौडमा बलियो देखिएका छन्।

युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने उक्त अवार्डको दौडमा रहेका अर्का खेलाडी एमबाप्पेले १६ खेलमा १३ गोल गरेका छन्। नर्वे विश्वकपमा छनोट नभएकाले उक्त प्रतियोगितामा सहभागी नभएका स्टार खेलाडीको सूचीमा हालान्ड पनि थिए।

२२ वर्षीय हालान्ड आबद्ध भएयता म्यान सिटी थप बलियो बनाएको छ। यो सिजन १५ खेलबाट ३५ अंक भएको म्यान सिटी शीर्षस्थानको आर्सनलभन्दा ५ अंकले पछाडि छ। म्यान सिटीले अघिल्लो खेलमा हार ब्यहोरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *