देउखुरीमा तयार भयो लुम्बिनीको आफ्नै प्रदेश सभा भवन

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा आगामी प्रदेश सभा संचालनका लागि भवन निर्माणको अधिकांश काम सकिएको छ । यही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

राप्ती गाउँपालिका ३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गा त्यहाँ रहेका भवनसहित प्रदेश सरकारका लागि प्राप्त भएपछि सोही परिसरमा प्रदेशसभा भवन तयार गरिएको हो ।

‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश सभा सचिव दुर्लभकुमार पुनले भने, ‘आन्तरिक डेकोरेशनका अन्य सानातिना काम बाँकी छन्, केही दिनमै तयार हुन्छ ।’

प्रदेश सरकारले ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो । संसद अधिवेशन र सपथ यहीँ खुवाउने तयारीका साथ काम भएको छ, सरकारले निर्णय गर्ने समयमा सबै काम सकिन्छ– सचिव पुनले भने ।

प्रदेश सरकारलाई यो जग्गा प्राप्त भएपछि यहाँको राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरी मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि परिसरका संरचना प्रयोगमा आएका छन् ।

प्रदेश सभा भवनमा विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थियो । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन् । रंगरोगन भइसकेको छ ।

अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम चलिरहेको छ । पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ ।

आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्वन्धी आवश्यक निर्णय गर्नेछ । पुस १३ गते मन्त्रीपरिषद बैठक बसेर मिति टुंगो लगाउने सरकारको तयारी छ । पुस १५ गते सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई यहीँ बोलाएर प्रदेश सरकारले नयाँ सन्देश दिन खोजेको छ ।

लुम्बिनीमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले नै शपथ गराउने गरी कार्यविधि बनाइएको छ । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको शपथ हुनेछ ।

शुक्रबार प्रदेश सभा सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने गरी सूचना प्रकाशन गरिएपछि बुटवल मुकाममा भएको प्रदेश सभाको काम सकिएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले सूचना नै प्रकाशन गरेर जानकारी दिएका छन् ।

प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको हो । प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन् ।

१३ मन्त्रालय रहेकाले अहिले शिक्षालय परिसरमा भने सबै मन्त्रालयलाई पुग्ने भवन छैनन् । तत्काल ६ वटा मन्त्रालय भित्र, केही मन्त्रालय वडा कार्यालय र सरकारी कार्यालयमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्वास्थ्य, कृषि, ऊर्जालगायतका मन्त्रालयलाई बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *