सार्वजनिक कुलो व्यक्तिको नाममा पास गर्ने भैरहवा नापीका तत्कालीन अधिकृतहरूसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कुलो व्यक्तिको नाममा पास गर्ने भैरहवा नापी कार्यालयका तत्कालीन अधिकृतहरूसहित १४ जनाविरुद्ध मुद्धा दायर गरेकाे छ ।

आयाेगले नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हाे ।

रुपन्देही, साबिक दुधराक्ष गाबीस–७ (क) र वडा–२ (क) को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिलेर फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमातो रहेको पाइएको अख्तियारको भनाइ छ ।

नियम विपरित वदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबर हिनामिना गरेको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *