हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरूप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

‘गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने ।

गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो ।

गाउँपालिकाले असहाय रोगीलाई रु दश हजार प्रदान गर्दै आएकामा चालु आवदेखि रु पन्ध्र हजार आर्थिक सहायता प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिए।

चालू आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई रु २९ लाख ८६ हजार रकम वितरण गरिएको छ ।

आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय २० रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ ।

किसानलाई उत्पादनसँग जोड्न १६ हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *