काठमाडौं । कतारमा जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नुअघि क्रोएसियाका भेट्रान मिडफिल्डर लुका मोड्रिचले आफ्नो टोलीसँग रियल म्याड्रिडको डीएनए रहेको बताएका छन् । उनको मतलब थियो- रियल म्याड्रिडजस्तै क्रोएसिया पनि अन्तिम घडीसम्म हार स्वीकार्दैन ।
तर, मतलब यत्तिमै सीमित होइन । मोड्रिच सन् २०१२ देखि स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेलिरहेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रियल म्याड्रिडको प्रमुख प्रतिद्वन्द्वी बार्सिलोनामा १७ वर्ष बिताएका थिए। सन् २०२१ मा बार्सिलोना छाड्नुअघि मेस्सीको प्रतिस्पर्धा खासगरी रियल म्याड्रिडसँग नै हुने गर्थ्यो । आफ्नो प्रतिष्ठाका लडाईका रूपमा आपसको भिडन्तमा उत्रन्थे । बार्सिलोनालाई कसैले छेक्थ्यो भने त्यो प्रायः रियल म्याड्रिड नै हुने गर्थ्यो ।
मेस्सीलाई विश्वकप उपाधि सपना पूरा गर्ने सम्भावना कायम राख्न मोड्रिचसहितको क्रोएसिया बाटोमै तेर्सिएको छ। क्रोएसिया नै हो जसले चार वर्षअघि रुसमा आयोजित विश्वकपको समूह चरणमा अर्जेन्टिनालाई ३-० गोलले हराएको थियो । त्यसमा मोड्रिचले पनि गोल गरेका थिए ।
त्यतिबेला क्रोएसिया फाइनलसम्म पुगेको थियो । मोड्रिचले गोल्डेन बलमात्र जितेनन्, त्यस वर्षको फिफा वर्ष खेलाडी अवार्ड पनि हात पारे । १० वर्षयता मेस्सी र रोनाल्डोबाहिर यो अवार्ड जान सकेको थिएन। सन् २००७ पछि पहिलोपटक मेस्सी र रोनाल्डोबाहेकले यो अवार्ड जित्ने खेलाडी बनेका थिए मोड्रिच ।
३७ वर्षको उमेरमा पनि मोड्रिच उत्तिकै दमदार प्रदर्शन गरिरहेका छन् । लामो समय क्रिस्टियानो रोनाल्डोसँगै खेलेका उनी पोर्चुगिज स्टार रियल म्याड्रिडबाट बाहिरिएपछि स्पेनिस क्लबको प्रमुख भरोसाजस्तै बनेका छन् ।
मोड्रिच तत्कालीन सोसलिस्ट फेडरल रिपब्लिक अफ युगोस्लाभियाअन्तर्गत रहेको सोसलिस्ट रिपब्लिक अफ क्रोएसियामा सन् १९८५ मा जन्मिएका हुन् । हजुरबासँग बसेर भेडा चराउँदै हुर्कँदा उनको बाल्यकालमा क्रोएसिया स्वतन्त्रता युद्धको नराम्रोसँग असर पर्यो ।
विद्रोहीद्वारा हजुरबुबा मारिए भने उनी बस्दै आएको घर पनि जलाइयो । त्यसपछि करिब ७ वर्ष उनी शरणार्थी शिविरमा बसेका थिए ।
शरणार्थीका रूपमा परिवार बस्दै आएको होटलको पार्किङमा फुटबल खेल्न थालेरै उनी यस खेलप्रति लोभिए । शारीरिक रूपमा पातलो रहेपनि आफूभित्र रहेको फुटबल क्षमतामाथि उनले विश्वास गरिरहे । सानै उमेरमा एकेडेमी भर्ना भएका मोड्रिचलाई प्रशिक्षक तोमिस्लाभ बासिचले सन् २००१ मा घरेलु क्लब डाइनामो जाग्रेब पुर्याएपछि उनी व्यावसायिक फुटबलमा प्रवेश गर्ने बाटो फराकिलो बनेको थियो ।
डाइनामो जाग्रेबले सन् २००५ मा मोड्रिचसँग १० वर्षको सम्झौता गरे पनि त्यसको तीन वर्षपछि मोड्रिच इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम भित्रिएका थिए। त्यसअघि नै उनीमाथि बार्सिलोना, रियल म्याड्रिडजस्ता क्लबको नजर परिसकेको थियो । शारीरिकरूपमा मोड्रिच र मेस्सी उस्तै उस्तै देखिन्छ । उनीहरूको उचाइमा केबल एक इन्चको मात्र फरक छ ।

Leave a Reply