काठमाडौं । नेपाल बार एसोसिएसनको आउँदो २४ र २५ गते पोखरामा आयोजना हुने भनिएको मानवअधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी अपर्झट काठमाडौंमा सारिएको छ । प्रधानन्यायधीस चोलेन्द्रशम्शेर राणाको निलम्बन फुकुवापछि उनलाई अदालत जानबाट छेक्नुपर्ने भएकाले सो कार्यक्रम काठमाडौंमा ल्याइएको हो ।
बारले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानवअधिकार सम्वन्धी राष्ट्रिय गोष्ठी र बारको ४८ औं केन्द्रीय कार्यकारिणी परिषदको वैठक पोखरामा गर्ने तयारी गरेको थियो ।
तर प्रधानन्यायाधीस राणामाथिको महाअभियोग निस्क्रिय भएपश्चात विषय परिस्थिति उत्पन्न भएको भन्दै बारको आकस्मिक वैठकले कार्यकारिणी वैठक स्थगत गरेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय गोष्ठी चाहीँ आगामी शनिबार काठमाडौंमा नै हुनेछ ।
यसैबीच बारले पोखरा जानका लागि काटिएका टिकटहरु रद्द गराइदिन अनुरोध गर्दै विभिन्न एयरलाइन्सलाई पत्राचार गरेको छ । बार महासचिव अन्जिता खनालले बुद्ध एयर, यति एयरलाइन्स, गुण एयरलाइन्स र श्री एयरलाइन्सलाई पत्राचार गर्दै रकम फिर्ताको माग गरेकी हुन् ।
यस विषयमा नेपाल प्रेससँग कुरा गर्दै यति एयरलाइन्सका सूचना अधिकृत सुदर्शन बर्तौलाले काटिएको टिकट यदि ‘नन रिफन्डेबल’ हो भने पैसा फिर्ता नहुने स्पष्ट पारे । यदि ‘रिफन्डेबल’ हो भने उडान समयभन्दा २४ घन्टा अगाडि टिकट फिर्ताको माग भएमा १० देखि ३० प्रतिशत जरिवना कटौति गरेर बाँकी रकम फिर्ता गर्ने नीति रहेको उल्लेख गरे ।


Leave a Reply