बुथ कब्जा भएका चापाकोटका वडाबाट धनराजको अग्रता बढ्यो, पाए ९५ प्रतिशत मत

काठमाडौं । स्याङजा क्षेत्र नम्बर २ मा मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता लिइरहेका कांग्रेस उपसभापति धनराज गुरुङले चापाकोट नगरपालिकाका बुथ कब्जा भएका वडाबाट ९५ प्रतिशत मत पाएपछि एमालेकी पद्मा अर्याललाई करिब ५ हजार मतले पछि पारेका छन् ।

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ मा कांग्रेसले बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेका थियो । तर आयोगले गणना गर्न आदेश दिएको थियो ।

बुथ कब्जा भएको ३ नम्बर वडामा गुरुङ र प्रदेशका कांग्रेस उम्मेदवार महेश भट्टराईले बराबरी १४२६ मत पाएका छन् भने एमालेका पद्मा अर्याल र प्रदेशका उम्मेदवार बुद्धिमान श्रेष्ठले पनि बराबर १०३ मत पाएका छन् ।

त्यस्तै ४ नम्बर वडामा पनि गुरुङले १३७९ मत पाउँदा अर्यालले १८८ मात्र पाएकी छन् ।

प्रदेशमा कांग्रेसका भट्टराईले १२४० र एमालेका श्रेष्ठले ३५९ मत पाएका छन् । चापाकोट बुद्धिमानकै नगरपालिका भएकाले कांग्रेसकै कतिपय कार्यकर्ताले एकलौटी मतदान गर्ने क्रममा केही मत श्रेष्ठलाई पनि दिएको पाइएको छ ।

चापाकोटका बुथ कब्जा भएका दुई वडाको मतगणना सकिँदा धनराज गुरुङ २७ हजार ३२ मतसहित अग्रस्थानमा छन् भने अर्यालले २२ हजार ४०१ र घण्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा २ मा कांग्रेसका महेश भट्टराईको १४ हजार ७१४ मत छ भने एमालेका बुद्धिमान श्रेष्ठले १२ हजार ४७९ मत पाएका छन् । अहिले चापाकोटका अरू वडाको मतगणना भइरहेको छ ।

Comments

2 responses to “बुथ कब्जा भएका चापाकोटका वडाबाट धनराजको अग्रता बढ्यो, पाए ९५ प्रतिशत मत”

  1. bharat kumar Thapa Avatar

    २०७४ मा शेरबहादुरले टिकट नदिएको रातो पासपोर्ट काण्ड हो भन्ने कुरा थाहा थियो त्यो अपराध अहिले जनमतको पुरै बेवास्ता गरि बरबर युगको झल्को पो देखाए लोकतन्त्रको उपहास ।

    1. bharat kumar Thapa Avatar

      २०७४ मा शेरबहादुरले टिकट नदिएको रातो पासपोर्ट काण्ड हो भन्ने कुरा थाहा थियो त्यो अपराध अहिले जनमतको पुरै बेवास्ता गरि जंगली बरबर युगको झल्को पो देखाए धनराज गुरूङले लोकतन्त्रको उपहास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *