चुनाव हापेका विप्लवको आह्वान : झापा विद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट एकजुट हाेऔं (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय निर्वाचनलाई नाटक मञ्चनको संज्ञा दिएका छन् ।

निर्वाचन बहिष्कार गरेका विप्लवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै कम्युनिष्ट नामकै आत्मसर्मपणकारी तत्वहरुलाई प्रयोग गरेर देशलाई ओरालो यात्रामा लगेको बताएका हुन् ।

‘दलाल पूँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको छ। जनयुद्धको सफलतालाई षड्यन्त्रपूर्वक रोकिएको छ । कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न बिसर्जित गर्ने र देशमाथि अमेरिकी र भारतीय साम्राज्यवादको नवउपनिवेश खडा गर्ने, नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ’, उनले भनेका छन्, ‘आज त्यही खेल सुरु भएको छ । अनेकौं बहानामा देशभक्त शक्तिलाई छिन्नभिन्न पार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले क्रान्तिकारी कम्युनिष्टलाई घेराबन्दी गरेको आरोप लगाएका छन् । वैज्ञानिक समाजवाद चाहने नागरिकलाई निराश बनाउने खेल भइरहेको उनको भनाइ छ । कम्युनिष्टहरुलाई संसदीय व्यवस्थाको पुच्छरमा घिसारेर कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने प्रयास भएको उनको तर्क छ ।

नेपालमा कम्युनिष्टहरु समाप्त पार्ने खेल चलिरहेको उनको बुझाइ छ। जुनसुकै रुप र रंगका दलाल पूँजीवादी तत्वहरु आए पनि नेपालीका लागि कुनै अर्थ नभएको विप्लवले बताए ।

उनले भनेका छन्, ‘चाहे नयाँ अनुहारमा हुन् या चाहे पुरानै अनुहारका हुन् । जुनसुकै अनुहारले सरकार चलाए पनि मुलुक समृद्ध बन्ने अवस्था छैन । जुनसुकै तत्वले सरकार चलाए पनि नेपाली श्रमिकको लागि कुनै अर्थ हुँदैन । आखिर विष विष नै हुन्छ । विषले कहिल्यै पनि अमृतको काम गर्न सक्दैन ।’

यही संसदीय व्यवस्था ठीक भन्नु नेपाललाई विश्व साम्राज्यवादी शक्तिहरुको खेलमैदान बनाउने प्रयासमात्रै भएको उनले टिप्पणी गरे ।

‘हामी कम्युनिष्टहरु एक हुन जरुरी छ । झापा विद्रोहदेखि जनयुद्धबाट यहाँसम्म आइपुग्न क्रान्ति र परिवर्तनको पक्षमा लडेका सबै कम्युनिष्ट समर्थकहरु एक हुनुपर्छ’, उनले भनेका छन्, ‘हामीले कमिकमजोरी सच्चाउने वेला आएको छ । हामी भ्रमित हुँदा देशले ठूलो क्षति व्यहोरेको छ । यही संसदीय प्रणालीमार्फत् संसदबाट सरकार बनाएर केही गर्न सकिन्छ कि भन्ने भ्रामक चेत बोक्नुको कारण हामीले पछुताउनुपर्ने स्थिति आउँछ ।’

उनले सबै क्रान्तिकारी शक्तिहरुलाई नेपाललाई वैज्ञानिक समाजवादमा लैजान पहल गर्न आह्वान गरेका छन् । नेपाललाई दलाल पूँजीवादबाट मुक्त गराउनेतर्फ लाग्न पनि विप्लवले आग्रह गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *