‘घाइते’ फ्रान्सको उपाधि रक्षा अभियान आजदेखि, अस्ट्रेलियासँग भिड्दै

दोहा। प्रभावशाली खेलाडीहरु चोटका कारण खेल्न नसक्ने भएपछि समस्यामा परेको साविक विजेता फ्रान्सले मंगलबार राती अस्ट्रेलियासँग भिड्दै कतार विश्वकप यात्रा सुरु गर्दै छ।

यो खेल  नेपाली समयअनुसार राती पौने १ बजे सुरु हुने छ। विश्वकपमा यी दुई टोली लगातार दोस्रोपटक भिड्न लागेका हुन्। यसअघि सन् २०१८ मा आयोजित संस्करणमा फ्रान्सले २-१ गोलले हराएको थियो। उक्त विश्वकप जितेको फ्रान्स यसपटक भने प्रतियोगिता सुरु हुनुअगावै समस्यामा परेको छ।

स्ट्राइकर करिम बेन्जेमादेखि मिडफिल्डरहरु पल पोग्बा, एन्गोलो कान्टेलगायत पहिलो रोजाईका केही खेलाडीहरु विश्वकप खेल्न नसक्ने भएपछि फ्रान्स समस्यामा परेको हो। विश्वकप इतिहासमा सन् १९६२ पछि कुनैपनि टोलीले उपाधि रक्षा गर्न सकेको छैन। फ्रान्सको पछिल्लो लय पनि कमजोर देखिन्छ।

उसले पछिल्ला ६ खेलमा केवल एक जित निकालेको छ। अन्य पाँच खेलमा तीन हार र दुई बराबरी ब्यहोरेको थियो। अस्ट्रे्लियाले भने पछिल्ला लगातार पाँच खेल जितेको छ। अस्ट्रेलिया र फ्रान्सबीच हालसम्म भएका चार भिडन्तमा फ्रान्सले दुई जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ। समूह ‘डी’मा रहेको फ्रान्सले अन्य खेलमा इस्टोनिया र डेनमार्कको सामना गर्ने छ।

विश्वकपका पछिल्ला संस्करणमा साविक विजेता टोलीहरु पहिलो चरणबाटै बाहिरिरहेकाले त्यसको डर फ्रान्सलाई पनि छ। सन् २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ जर्मनी पहिलो चरणबाटै बाहिरिएका थिए।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *