बाबुको ह्याट्रिक सपना तोडेका प्रेमलाई हराएर छोरा योगेश बने सांसद

पोखरा । मुस्ताङमा कांग्रेसको राजनीतिमा रजगज जमाएका रोमी गौचन थकालीले यस पटकको निर्वाचन नलड्ने घोषणा गरे । उनले नेपाली कांग्रेसको समानुपातिक सूचीमा बस्न अस्वीकारमात्रै गरेनन्, प्रत्यक्षकै टिकट लिन मानेनन् ।

उनले आफ्ना २९ वर्षीय छोरा योगेश गौचनलाई अघि सारे । कांग्रेसका शीर्ष नेताहरुलाई फकाएर उनले आफ्ना छोरामा राजनीतिक विरासत सार्ने योजना बनाए । रोमीका छोरा योगेश पनि मुस्ताङमा चिनिएकै नाम हो । उनी लेते गाविसको कांग्रेस सभापति भइसकेर अहिले कांग्रेस गण्डकी प्रदेश समितिमा छन् ।

यता नेकपा एमालेले मुस्ताङमा पूर्वसांसद प्रेम तुलाचनलाई उठायो । नेपाली कांग्रेसमा विद्रोह गरेर नेकपा एमाले आएका तुलाचनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोमीलाई हराएर संसदको यात्रा गरेका थिए । रोमीले मुस्ताङको राजनीतिमा एकछत्र राज गरेर नयाँ मान्छे अघि नसारेको भन्दै तुलाचन एमालेमा गएका थिए । तर तुलाचन कांग्रेसका नयाँ अनुहारबाटै यसपटकको निर्वाचनमा पराजित भए ।

योगेश र प्रेमबीच खास प्रतिस्पर्धा नहुने एमालेजनको विश्लेषण थियो । पोखरामा एमाले नेताहरु मुस्ताङमा प्रेमले ‘स्योर एन्ड सर्ट’ जितेर आउने आँकलन गरेका थिए । तर, आइतबारको निर्वाचनको नतिजा भने ठ्याक्कै उल्टो आयो ।

एमालेले शतप्रतिशत जित्ने भनेको क्षेत्रमा २९ वर्षे योगेशले प्रेमलाई ९१४ मतान्तरले हराए । नातामा साला-भेना पर्ने योगेश र प्रेमको निर्वाचन राजनीतिक सँगसँगै पारिवारिक पनि थियो । रोमीको सांसदमा ह्याट्रिक गर्ने सपनामा पानी छरेका प्रेम अहिले सांसदमा दोहोरिने दाउमा थिए । तर, सफल हुन सकेनन् ।

भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् । उनी पर्यटन व्यवसायीहरुको संगठन नाटा गण्डकीका सदस्य हुन् । उनले त्रिथुंगा ट्राभल्स एण्ड टुर, कालोपानी गेष्ट हाउस सञ्चालन गरेका छन् ।

Comments

One response to “बाबुको ह्याट्रिक सपना तोडेका प्रेमलाई हराएर छोरा योगेश बने सांसद”

  1. ksp pyl Avatar
    ksp pyl

    बाउले जन्मदिनको उपहार दिएजस्तो गरि टिकट दिएर जित्नेले मुलुकको लागि गर्लान कि बाउको लागि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *