गोकुलको टिप्पणी- माओवादी र समाजवादीलाई सित्तैमा खेताला लाउनु कांग्रेसको सफलता (भिडिओ)

भक्तपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले आफ्ना ज्यानी दुस्मन भनिने कम्युनिस्टहरूलाई सित्तैमा खेताला बनाएर हिँड्न कांग्रेस सफल भएको टिप्पणी गरेका छन् ।

काभ्रे २ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका बास्कोटाले भक्तपुरमा आयोजित सम्पर्क मञ्चको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी र नेकपा एसका कार्यकर्तालाई कांग्रेसले निःशुल्क खेताला बनाउन सफल भएको बताए ।

बास्कोटाले भने- माओवादी र समाजवादी नामका कम्युनिस्टलाई निःशुल्क खेताला बनाउन सक्नु कांग्रेसको सफलता हो । ती दलका कार्यकर्ता बुझो न सुझो प्रतिगमन भनेर हिँडेका छन्,गाउँ गाउँमा हामीले प्रष्ट पार्नुपर्छ । १६५ मध्ये ४१ क्षेत्रमा चुनाव लडेर कुन सरकारको नेतृत्व गर्छन् रु

बास्कोटाले गठबन्धन सरकार बनेपछि मोही समेत आयात गर्ने अवस्थामा मुलुकलाई पुर्‍याएको आरोप लगाउँदै कांग्रेसको अर्थ नीति भनेको मोही समेत किनेर खानुपर्छ भन्ने रहेको बताए । उनले आफ्नो पालामा काभ्रेको विकासमा लगाएका योजना कटौती भएको फेहरिस्त समेत सुनाए ।

कार्यक्रममा काभ्रे २ को क्षेत्र नम्बर २ का प्रदेश सभा उम्मेदवार कुमार खकुरेलले गोकुल बास्कोटाको नेतृत्वमा शुरु भएका विकास आयोजनाको बजेट कटौती भएको भन्दै एमालेले गरेका विकासको जस लिन गठबन्धनका उम्मेदवारहरूलाई लाज लाग्नुपर्ने बताए । एमाले जिल्ला अध्यक्ष अशोक ब्यान्जु लगायतले सो अवसरमा सम्बोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *