चोटबाट फर्किदै हालाण्डले गरे इन्जुरी समयमा निर्णायक गोल

काठमाडौं । यो सिजन शानदार लयमा रहेका एर्लिङ हालाण्डकै निर्णायक गोलमा म्यानचेस्टर सिटीले शनिबार राति फुलहममाथि कठिन जित हात पार्दै इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। सिटीले शनिबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।

हालाण्डले खेल सकिन लाग्दा प्राप्त पेनाल्टी सदुपयोग गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्। दोस्रो हाफको इन्जुरी समयको पाचौँ मिनेटमा हालाण्डले गोल गरेका थिए। चोटका कारण लगातार दुई खेलको विश्रामपछि उनी मैदान फर्किएका हुन्।

उनलाई ६४ औं मिनेटमा मैदान छिराइएको थियो। त्यतिबेला खेल १–१ गोलको बराबरीमा थियो भने म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित थियो। म्यान सिटीका जुलियान अल्भारेजले १६ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर २६ औं मिनेटमा जोवा कान्सेलोले सोझै रातो कार्ड पाएपछि म्यान सिटी १० खेलाडीमा सिमित भएको थियो। प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दे फुलहमले खेल बराबरीमा ल्याएको थियो।

हालाण्डले यो सिजन घरेलु लिगमा मात्र १८ गोल गरिसकेका छन्। उनको नाममा ३ असिस्ट पनि छ। दोस्रो सर्वाधिक गोलकर्ता रहेका टोट्टनहामका हेरी केनले १० गोल गरेका छन्। तालिकामा म्यान सिटीको १३ खेलबाट ३२ र आर्सनलको १२ खेलबाट ३१ अंक रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *