रुपन्देही ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनको प्रतिवद्धताः भौतिक विकासदेखि सामाजिक विकाससम्मका १३० बुँदे योजना

रुपन्देही । नेकपा एमाले, राप्रपा र जसपाको ३ दलीय तालमेलको तर्फबाट आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३० बुँदे योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक भएको छ ।

तीन दलीय तालमेलको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफुले दीर्घकालीन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए ।

उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै सदैवः आफ्नो प्राथमिकता रहेको बताए । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरशः लागू गर्नेगरी काम गर्ने बताए ।

यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानविय विकासमा आफूहरुको मुख्य काम हुने बताए ।

एमाले, राप्रपा र जसपाको तीन दलीय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पूर्वाधार निर्माण र विकासदेखि सञ्चार विकाससम्मको १३० बुँदें योजना समेटिएका छन् ।

प्रतिबद्धता लेखन समितिका संयोजक प्रा.डा.कपिलदेव लामिछाने,सिए शिवहरी शर्मा,विष्णु गौतम, भरतकुमार पोखरेल रहेका थिए ।
यस्तो छ तीन दलिय तालमेलको तर्फबाट सार्वजनिक प्रतिबद्धता पत्रको पूर्ण पाठ:

 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९, रूपन्देही निर्वाचन क्षेत्र नं. ३ को
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितको
प्रतिबद्धतापत्रको सारांश
आदरणीय रूपन्देही निर्वाचन क्षेत्र नं. ३ का आमाबुवा, दिदीबहिनी, दाजुभाइहरू तथा जनसमुदायहरू !
हामी स्वाधीनता सहितको शान्ति, समृद्धि र स्वतन्त्रता तथा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका छौ। हाम्रो चुनावी तालमेल सत्ताप्राप्तिको स्वार्थी गठबन्धन नभई मुलुकको स्वाधीनताको रक्षा गर्दै देशलाई समृद्ध बनाई जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो । अतः यही २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा रूपन्देही जिल्लाका संयुक्त तालमेलका तर्फबाट उम्मेदवार हुनुभएका राप्रपाका वरिष्ठ नेता दीपक बोहरा हलो चुनावचिन्हका साथ तथा प्रदेशसभा (१) का लागि जसपाका नेता महेन्द्र यादव छाता चुनावचिन्हका साथ र (२) का लागि नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य क. तुलसीप्रसाद चौधरी सूर्य चुनावचिन्हका साथ साझा उम्मेदवार हुनुहुन्छ । वहाँहरू तीनैजनालाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछौँ ।
– पूर्वाधार निर्माण र विकास–हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध, बुटवल बेलहियाको सडकमा थप आकासे पुल ÷ अन्डरपासको निर्माण, बुटवल—बेथरीको अत्याधुनिक सडक लगायत दर्जनौँ बृहत् परियोजनालाई यथाशीघ्र सम्पन्न गरी उपयोगमा ल्याइनेछ ।
– भैरहवा क्षेत्रमा उद्योग–व्यापार मेलाका लागि भैरहवा–मण्डपको व्यवस्थापन गरिनेछ ।
– शुद्धोधन गाउँपालिका र बेलवा जोड्नका लागि दानव नदीमा पुल निर्माण गरिनेछ ।

– पत्थर डाँडादेखि तिनाउसम्म सडक बिस्तार गरी बत्ती जडान गरिनेछ ।
– भलबारीदेखि तीनधुरा कुट्टा सडक विस्तार गरी स्तरोन्नति गरिनेछ ।
– बाउन्नकोटी सामुदायिक वनमा पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिने छ ।
-वनकट्टी–बिसौरियाअन्तर्गत बिसौरिया डाँडामा ओवरहेड पानी टङ्की निर्माण गरिनेछ ।
– फर्साटिकर–बेतही–सखुवानी–अमवा–कुट्टा–छपिया–बनभुषडी–भगलापुर–गुरौलिया मा.बि.–पुरेनी–भुजौली–केदली–डाडां–सेमलार–मधैयाचोक–बेलबरीया–मोतिरपुर–सौरैहया–दुबौली हुदै फर्साटिकर रिङ रोड निर्माण गरिनेछ ।
– तिलोत्तमा १३ र १४ वडामा लुम्बिनी प्रादेशिक बस पार्कलाई निर्माण गरिनेछ ।
– पश्चिम मैनैयादेखि भाटा–कृष्णगन्ज हुदै बेलबास सडकलाई २ लेनको बनाइनेछ ।
– बेलबास–उजेलापुर–महदैया–नरेनापुर–बैठौलिया–कलुवा– पुरेनी हुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।
– फर्साटिकर गाउदेखि कर्वला–सिरी सिमाना हुदै दोगाना जाने सडक निर्माण गरिनेछ ।
– मोतिपुरदेखि तपाहा सातकुला हुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।
– भैरहवाको स्वर्गद्वारी तथा तिनपा १४ स्थित जमुना शवदाह गृहलाई सुविधा सम्पन्न बनाइने छ ।
– सिद्धार्थनगर बडा ८ मा रहेको शिव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ ।
-भैरहवाको मुख्य बाजारबाट विद्युत तथा टेलिफोनका तार अन्डरग्राउन्ड गरी थप सुन्दर बनाइनेछ ।
– पक्लिहवा स्थित छोटी भन्सार कार्यालयलाई पुन संचालनमा ल्याइनेछ ।
-सोनौली बेलहिया अन्र्तर्राष्ट्रीय नाकामा इन्टिग्रेटेड चेक पोष्ट निर्माणको कामलाई पुर्णता दिइनेछ ।
– भैरहवाको पुतली कृषि बाजारलाई व्यवस्थित गरिनेछ ।
– पुर्वाधार विकास तथा निर्माणको कार्यलाई छिटोछरितो गर्न–गराउन एक विकास प्राधिकरणको स्थापना गर्न पहल गरिनेछ ।
– स्वास्थ्य तथा फोहोरो प्रशोधन– भैरहवामा रहेको भीम अस्पतालको ५० शैयालाई १०० शैयामा क्षमता विकास गरिनेछ । सियारी र शुद्धोधनको १५ बेडको अस्पताललाई पूर्णता दिनेइनेछ।
– यस क्षेत्रमा उपयुक्त स्थानको छनौट गरी एक बृहत् फोहारोमैला प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
– लागू औषध नियन्त्रणको कार्यलाई प्रभावकारी बनाइनेछ ।
– पर्यटन –यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ–मन्दिर–मस्जिद–गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनको विकास गरिनेछ ।
-भैरहवाको डन्डाखोला करिडोर पुरा गरी पर्यटकलाई आकर्षित गरिनेछ ।
-थारु समुदायको बहुलता भएका वस्तीहरुमा होम स्टे संचालनको ब्यवस्था मिलाइने छ ।
– शुद्धोधन ३ तथा ५ को सियाभार मन्दिर तथा दर्बाहा क्षेत्रलाई पर्यटनस्थलका रूपमा विकास गरिनेछ।
– भारतीय पर्यटकहरुको सोनौली बेलहिया अन्तर्राष्ट्रिय नाकामा आवतजावत सहजता गरिनेछ ।
– व्यवस्थित बस्ती तथा सहरी विकास – बुटवल उपमहानगरपालिका वडा नं. १७, १८, शुद्धोधन ३ र सियारी ७ मा पर्ने औद्योगिक कोरिडोरले प्रभाव पार्ने जनसमुदायको वसोवासको व्यवस्था मिलाइ औद्योगिक क्षेत्र संचालनमा ल्याइनेछ ।
– भैरहवा कारागार तथा बैंकरोडदेखि दक्षिणमा रहेको सैनिक ब्यारेकलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा व्यवस्थित सरकारी निजी क्षेत्रको सहभागितामा अत्याधुनिक पार्क, पार्किक, सार्बजनिक सौचालय सहितको ब्यवसायिक भवन निर्माण गरि यस नगर क्षेत्रलाइ थप सुन्दरताका साथै व्यवसाय तथा प्रयटन मैत्री बनाउन पहल गरिनेछ ।
– भैरहवा स्थित गल्ला मण्डीलाइ थप महत्वका साथ व्यवस्थापन गर्न पहल गरिने छ ।
-कृषि, सहकारी, हाटबजार, पशुपालन र सिंचाइ –कृषिलाई व्यवसायीकरण गरिनेछ ।
– कृषि क्षेत्रको लागि आवश्यकता विद्युत, जल तथा यातायातका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ । कृषिलाइ यान्त्रीकरण गर्न पहल गरिनेछ । कृषिलाई आवश्यक विद्युत निशुल्क गरिनेछ ।
– किसान केन्द्रित हाट बाजार स्थापना गर्न पहल गरिने छ । उत्पादनको आधारमा अनुदान दिइनेछ।
– कृषि उत्पादनलाई विचौलीया मुक्त बनाउन किसान केन्द्रित हाट बाजार स्थापनालाई जोड दिइनेछ ।
– सहकारीलाई टोलटोल र घरघरमा पु¥याइनेछ । सहकारीलाई कृषि, पशु पंक्षी, मत्स्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाई रोजगारीको सृजना गरिनेछ ।
– उद्योग–व्यवसाय तथा बन्दव्यापार –उद्योग, व्यवसाय र बन्दव्यापार सञ्चालन गर्न उद्योगमैत्री नीति अवलम्वन गरिनेछ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुनर्स्थापना गरिनेछ ।
– साना तथा घरेलु उद्योगहरुलाई वार्षिक दुई करोडसम्मको कारोबारलाई मूल्य अभिबृद्दि कर तथा अन्त शुल्कको दायराभन्दा बाहिर राखिनेछ ।
– स्थानीय उद्योगहरुबाट उत्पादन हुने दैनिक उपभोग्य बस्तुहरु सार्वजनिक वितरण प्रणालीबाट निश्चित कोटाका आधारमा खरिद गरिनेछ र सस्तो मूल्यमा विक्रीवितरण गरिने व्यवस्था मिलाइनेछ ।
– विशेष आर्थिक क्षेत्रलाई पूर्णता दिइनेछ । बेलहिया भंसार कार्यालयलाई थप व्यवस्थित गरिनेछ ।
– निजी सवारी साधनको नवीकरण गर्दा लाग्ने वार्षिक शुल्कलाइ कम्तीमा पांच बर्षमा नवीकरण शुल्क लाग्ने व्यवस्था पहल गरिनेछ ।
– सुचना तथा संचार – प्रेसलाई पूर्ण स्वतन्त्र राखिनेछ भने आमसञ्चारलाई व्यावसायिक र जिम्मेवार बनाइनेछ ।
– महत्वपूर्ण सार्वजनिक स्थानहरूमा ‘फ्रि वाइफाइ जोन’ तथा विभिन्न स्थानहरूमा आधुनिक सूचना केन्द्रहरू स्थापना गरिनेछ ।
– शिक्षा, युवा, खेलकुद तथा रोजगार – गरिबी न्यूनीकरणका निमित्त युवाका लागि सीपमूलक तालिम (प्लम्बर, इलेक्ट्रिसियन, कारपेन्टर, हेयर कटिंग, अटोमोवाइल आदि) तथा अध्ययनको व्यवस्था गरी स्वरोजगार र उद्यमशीलताको सृजना गरिनेछ ।
– युवाहरूलाई रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
– यस क्षेत्रमा सञ्चालन हुने उद्योगहरूमा यसै क्षेत्रका नागरिक तथा युवालाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।
– भैरहवामा सुविधा सम्पन्न श्रम कार्यालय तथा अध्यागमन कार्यालय स्थापना गरिने छ ।
– खेलकुद परिषद् गठन गरी परिषद्को मातहतमा खेलको माध्यमबाट युवाहरूलाई क्रियाशील बनाइनेछ ।
– रोजगारमूलक तथा प्राविधिक शिक्षामा जोड दिइनेछ ।
– सामाजिक सुरक्षा तथा मानवीय विकास – ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित र लोपोन्मुख समुदायको भत्ता पाँच हजार पु¥याई नागरिकको सम्मान गरिनेछ ।
– यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका समुहको उच्च सम्मानको वातावरण मिलाइने छ ।
– प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिनेछ।
– सुशासन – नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा विभेदरहित गरिनेछ।
– आर्थिक भ्रष्टाचार, घुसखोरीको अन्त्य गर्दे आर्थिक सुशासन कायम गरिनेछ। उच्च ओहदामा रहेका व्यक्तिहरुको आर्जन गरेको सम्पत्ति तथा अस्वाभाविक खर्चहरु र सोका आम्दानीका स्रोतहरु ऐन, नियमको दायरामा लाई नियमितरुपमा निगरानी गरिने छ ।
आदरणीय मतदाता महानुभावहरू,
उपर्युक्त प्रतिबद्धतामा उल्लिखित कार्य तथा विषयहरु सम्पन्न हुँदा यस क्षेत्रको मुहार परिवर्तन हुनेछ । अतः यही २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका एमाले, राप्रपा तथा जसपा सहितका हाम्रा साझा उम्मेदवारहरूलाई विजय गराउन हार्दिक अनुरोध गर्दछौं ।
नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त तालमेल ,निर्वाचन परिचालन कमिटी
प्रतिनिधि सभा क्षेत्र नं. ३, रूपन्देही

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *