घनश्याम भुसालको आरोपः केपी ओली ‘बनमारा झार’

रुपन्देही । रुपन्देही १ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फूलहरुको बगैंचामाथि बनमारा झारले आक्रमण गरेको उनको टिप्पणी थियो ।

भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइछाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैंचा उजाड बनाउने कोसिस गर्‍यो ।’

शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहे पनि नेतृत्वले गलत गरेको तर्क गरे । ओलीले एमालेको पार्टी प्रणालीमात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भुसालको भनाइ छ ।

कमल थापाहरू सूर्य चिह्नबाट चुनाव लडेकोतर्फ संकेत गर्दै भुसालले भने, ‘पन्चहरूले एमालेको चिह्न लिएर लड्ने तर पार्टीमा वर्षौंसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?’

आफूले साढे ४ दशक पसिना बगाएको पार्टीबाट विद्रोह गरेको उल्लेख गर्दै उनले इमानदार एमाले कार्यकर्ताहरूले आफूलाई साथ दिने बताए ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दाबी गरे । उनले अबको आवश्यकता संविधानको रक्षा र पूर्वाधार एवं सामाजिक विकास भएको बताए ।

त्यसैगरी रुपन्देही १ (१) का उम्मेदवार विश्वनाथ यादवले आफूहरू धेरै नबोल्ने तर बोले जति काम गरेर देखाउने भन्दै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।

उक्त क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरू गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक हीराबहादुर खत्रीले जानकारी दिए ।

Comments

One response to “घनश्याम भुसालको आरोपः केपी ओली ‘बनमारा झार’”

  1. ksp pyl Avatar
    ksp pyl

    देश बनाउने न उद्देशय छ , न भिजन छ । राजनीति नै केवल ओलिलाई गाली गर्न गरेको ? वनमारा काम नलाग्ने झार त तिमी हौ । टिकट नपाए पार्टी छोडने सिद्दान्तहिन ।ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *