सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्य पहाडी लोक मार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्य पहाडी लोक मार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रबन्ध मिलाइएको छ ।

२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०र२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलान्चोकका सुपरभाइजर प्रदीप राईले बताए । सडक भासिने क्रम रोकिएको छैन ।

‘वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो । हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,’ राईले भने, ‘यसपल्ट करिब एक मिटर भासिएको छ । भूकम्पले सडक चर्किएको थियो । झरी पर्न थालेपछि दब्न थालेको हो ।’

भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रूपमा भत्किएको छ । माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ ।

चाडबाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालयले दसैँअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो । कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहीन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलान्चोकका सव–इन्जिनियर केशव पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *