ओलीले ‘राप्रपा नेपाल’ भनेपछि लिङ्देनले सम्झाए, तर… (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागे । एमाले-राप्रपाको संयुक्त कार्यकर्ता भेलामा ओलीले सम्वोधन गरेका थिए ।

ओलीले लिङदेनका लागि भोट मागिरहँदा रणनीतिक शैली पनि अपनाए । लिङ्देनलाई राष्ट्रवादी नेता भन्दै उनले प्रशंसा त गरे, तर उनले आफ्नो क्षेत्रमा विकास नगरेको घुमाउरो आशय व्यक्त गरे ।
ओलीअघि लिङदेनले आफ्नो क्षेत्रमा गरेका विकासका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । तर, ओलीले भने लिङदेनलाई विकासको कुरा नसोध्न आग्रह गरे ।

उनले भने, ‘उहाँ कहिल्यै सत्तामा पुग्नुभएको छैन, त्यसैले विकासका कुरा उहाँलाई नसोध्नुस् । सरकारमै नगएको व्यक्तिले कसरी विकास गर्ने ? विकासको कुरा एमालेलाई सोध्नुस् ।’ ओलीले यस्तो भनिरहँदा लिङदेन गम्भीर देखिएका थिए ।’

आफ्नो भाषणका क्रममा ओलीले अञ्जानमा (?) दुईपटक राप्रपालाई ‘राप्रपा नेपाल’ भनेका थिए ।

‘नेपाली जनताले यसपालि नेकपा एमालेलाई बहुमत दिनुपर्छ र एमालेको साथमा लागेकाहरूलाई पनि जिताउनुपर्छ । राप्रपा नेपाल…. जहाँ-जहाँ एमालेले समर्थन गरेको छ त्यो ठाउँमा राप्रपा नेपाल….नत्र एमालेले समर्थन गरेको के मतलब भो ?’

ओलीले यसो भन्दा छेउमा बसेका लिङदेनले हाँस्दै सम्झाए- ‘राप्रपा नेपाल होइन, राप्रपा ।’

ओलीले सम्झिए झैं भने, ‘अँ राप्रपा ।’ अनि थपे, ‘राप्रपा नेपाल पनि मसित नजिकै छ नि । नजिक-नजिकै राख्या छु मैले । आज बिहान मात्रै राप्रपा नेपालका अध्यक्षज्यूसँग कुरा भएको थियो । खैर… जसलाई हामीले समर्थन गर्छौं । एमालेले आयुष्मान भवः भने पनि बाँचेन भने के काम ? बिमारी छ भने एमालेले निको भइगएस् भनेपछि पनि निको भएन भने के काम ? चुनावमा उठेको छ, एमालेले विजयी भवः भनेपछि पनि विजयी भएन भने के काम ? एमालेको समर्थन गरेको के अर्थ ? एमालेले यस क्षेत्रमा राजेन्द्र लिङदेनलाई आफ्नो इज्जतका लागि जिताउनुपर्छ ।’

उनले थपे, ‘एमालेले हलोलाई पनि भोट हाल्नुपर्छ नत्र भने देशद्रोहीले जित्छन् । देशद्रोहीलाई छेक्न हलोलाई पनि कहिलेकाहीँ भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो । गठबन्धन भन्ने कति नराम्रो शब्द छ हेर्नुस् त ? यी देशप्रति माया नभएका, विकासको वास्ता नभएकाहरूलाई हराउनैपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *