काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा सत्ता गठबन्धन देश र जनताको विरोधमा भएको उल्लेख गरिएको छ । त्यस्तै प्रतिपक्षी एमालेले पनि सडक र सदनमा सक्रिय भूमिका खेल्न नसकेका कारण सरकारलाई मनपरी गर्न सहयोग पुगेको नेमकिपाको तर्क छ ।
कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एउटै सिक्काका दुई पाटा हुन भन्न प्रष्ट रहेको घोषणापत्रमा उल्लेख छ भने दुई गठबन्धन पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाँजो मात्रै भएको नेमकिपाका नेता प्रेम सुवालले बताए ।
कृषिमा आत्मनिर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखाना स्थापना गराउन पार्टीका जनप्रतिनिधिहरुले आवाज उठाउने उनले बताए । देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउने, देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई हराउन, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन ध्यान केन्द्रित गर्ने उनले बताए ।
त्यस्तै नेमकिपाका अध्यक्ष बिजुक्छेले मुलुकको वास्तविकताका बारेमा अझै जनतालाई बुझाउन जरुरी रहेको बताए ।
उनले अन्य दलले जस्तो आफ्नो पार्टीले निर्वाचनमा खर्च गर्न नसक्ने धारणा राखे । नेमकिपा सरकार मात्रै गएर व्यवस्था परिवर्तन हुन नसक्ने भएकाले सरकारबाहिरै बसेर व्यवस्था सच्चाउन लाग्ने उनको भनाई छ ।
नेमकिपाले माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, हरेक प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन, किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन ध्यान केन्द्रित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

Leave a Reply