काठमाडौं । भोजपुरका अजम्बर राई काङमाङले १० वर्षअघि अशोक राईहरूसँगै एमालेबाट विद्रोह गरे । लगत्तै भोजपुरकै अर्का एमाले नेता राजेन्द्रकुमार राईले सामाजिक सञ्जालमा लेखे- वर्गीय मुक्तिको झण्डा बोक्न यो राजेन्द्र राई मैदानमा खडा छ ।
वर्गीय मुक्ति र जातीय मुक्तिका दुई योद्धाको रूपमा यी दुई नेता २०७४ को चुनाव चुनावी मैदानमा भोजपुर प्रदेशसभा १ मा आमने-सामने भिडे । एमाले-माओवादी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र कांग्रेस-संघीय गठबन्धनका उम्मेदवार अजम्बरलाई ७ हजार ७ सय ५६ मतले पछि पार्दै विजयी भएका थिए ।
राजेन्द्रले १९ हजार २ सय ९७ मत ल्याएका थिए भने अजम्बरले ११ हजार ५ सय ४१ मत प्राप्त गरे ।
विद्यार्थी राजनीतिकै क्रममा काठमाडौंमा केन्द्रित भएका उनले ‘ग्रासरुट’ पोलिटिक्स भने यही चुनावबाट थालेका हुन् । पहिलोपटक चुनाव लडेका राईको यो जितसँगै संसदीय यात्रा सुरू भएको थियो ।
अहिले सत्ता गठबन्धनबाट भोजपुर प्रदेशसभा १ मा पुन: होमिएका छन् राजेन्द्र । अजम्बर माओवादीमा फर्किएर उनलाई जिताउन खटिएका छन् ।
राजेन्द्रविरुद्ध एमालेले केन्द्रीय सदस्य हरिबहादुर राईलाई मैदानमा उतारेको छ । एमालेमा रहँदा दुवै नेता एउटै कित्तामा रहेपनि पार्टी फुटाउने माधव नेपालको निर्णयलाई हरिलगायतका जिल्लाका प्रभावशाली नेताले साथ दिएनन् । त्यसैले जिल्लामा नेकपा एसको अवस्था सोचेजस्तो बलियो हुन सकेन । एमालेमै बसेका शरणकुमार राईले जिल्लाकै नेतृत्व सम्हाल्ने अवसर पाए । ७७ जिल्लामा १०बुँदेबाट आएका २ जना अध्यक्षमध्ये शरण एकजना हुन् ।
अहिले परिस्थितिले हरि र राजेन्द्रलाई प्रतिस्पर्धीको रूपमा खडा गरेको छ । मुख्यमन्त्री राजेन्द्रसँग हिजोका सारथि हरिको मंसिर ४ को भिडन्त १ नम्बर प्रदेशकै सम्भवतः सबैभन्दा रोचक बन्नेछ । त्यसैले यसपटक भोजपुरको प्रदेशसभा १ निर्वाचन क्षेत्र चर्चामा छ ।
अहिले दुवैजना भोट माग्दै मतदाताको घरदैलोमा हिँडिरहेका छन् । लामो समय एउटै पार्टीको राजनीति गरेका राजेन्द्र र हरिको बाटो फेरिएको १४ महिनापछि चुनावी बाटोमा जम्काभेट भएको छ । दुईमध्ये कसले जित्लान् भोजपुर प्रदेशसभा १ को चुनाव ? अहिले चासोको विषय बनेको छ भोजपुरमा ।
भोजपुरमा कतिपय यी दुई नेताका साझा शुभेच्छुक पनि छन् । तर, राजनीतिमा व्यक्तिभन्दा पार्टीले चाहेर निर्णय हुन्छ । यी दुई भिड्नैपर्ने भयो । अब ती शुभेच्छुकले पनि राजेन्द्र वा हरिमध्ये एक रोज्नुपर्ने बाध्यता आइलागेको छ ।
भोजपुर १ आजसम्म वामपन्थीले कहिल्यै नहारेको क्षेत्र हो । २०४८ देखिका हरेक निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा ६४ मा माओवादीले जित्यो । यो क्षेत्रबाट तीनपटक पराजित भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की ‘आजित’ भएर ७४ बाट सुनसरी झरिसकेका छन् ।
संघमा माओवादीका सुदन किराती र प्रदेश २ मा कांग्रेसका विनोद बान्तवालाई साथमा लिएर मुख्यमन्त्री राई लडाइँमा छन् । सुरूमा भागबण्डाप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता उत्तम चापागाईँले बागी उम्मेदवारी दिएपछि राजेन्द्रलाई चुनौती खडा भयो । अझैपनि आफूहरूको भोट ‘मानामा पाथी’ घोप्ट्याए जसरी हाल्नुपर्ने भन्दै कांग्रेसीहरूको असन्तुष्टि सुनिन्छ । चापागाईँले उम्मेदवारी फिर्ता त लिएनन्, तर, पार्टी निर्णयबाहिर जान नसकिने भन्दै ४ दिनअघि निष्क्रिय पारेको घोषणा गरेका छन् । बागी उम्मेदवारी निष्क्रियले राहतको सास फेरेका राजेन्द्रले चापागाईँको विज्ञप्ति राख्दै फेसबुकमा लेखे- धन्यवाद मित्र !
यस्तो छ- दुई राईको राजनीतिक यात्रा
चुनावी आँकलन गर्नुअघि राजेन्द्र र हरिको राजनीतिक यात्राबारे चर्चा गर्नु आवश्यक छ । यी दुवैको राजनीति ४० को सुरूवाति दशकतिरबाट भएको हो । यहाँ दुवै नेताको राजनीतिक जीवन प्रस्तुत गरिएको छ ।
हक्की नेता, चट्टानी अडान
२०२७ असार १५ गते बुबा नगेन्द्रबहादुर राई र आमा धनकुमारी राईको चारमध्ये कान्छो सन्तानाको रूपमा राजेन्द्र भोजपुरको साविक किमालुङ गाविसको सुर्केमा जन्मिएका हुन् । त्यहाँबाट छिमेकी गाविस देउरालीमा बसाइँ आएका उनको घर अहिले षडानन्द नगरपालिका-१० झ्याउँपोखरीमा छ ।
स्वकीय सचिव सन्दीप राईका अनुसार १८ वर्षअघि शोभा पाठकसँग वैवाहिक बन्धनमा बाँधिएका राईले झ्याउँपोखरीकै शारदा माविबाट एसएलसी गरे । प्रमाणपत्र तह र स्तातक तह भने काठमाडौंको आरआर क्याम्पसबाट पूरा गरे ।
२०४३ सालतिर काठमाडौं छिरेका उनी आरआर क्याम्पसको स्ववियू सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए । विद्यार्थी संगठनबाट मुलधारको राजनीतिमा आएका राईले अनेरास्ववियूमा २ दशकबढी बिताए । गाउँमै मावि पढ्दा अनेरास्ववियूका प्रारम्भिक कमिटी हुँदै उनी केन्द्रीय अध्यक्षसम्म भए । २०५७-२०५९ र २०५९-२०६१ मा राजेन्द्र अनेरास्ववियूको नेतृत्वमा रहे ।
एमाले नवौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । नेकपाकालमा केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवारीमा रहे ।

माधव नेपाल प्रधानमन्त्री हुँदा राई जनसम्पर्क सल्लाहकार भएका थिए । एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा एसमा हाल उनी केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।
जनआन्दोलनकालमा नारायणहिटीबाट छोटो दूरीमा रहेको रत्नपार्कनजिकैको ‘रातोघर’ चर्चामा थियो । त्यहीँ आन्दोलनको रणनीति बनाउँदै राजेन्द्रको नेतृत्वमा सडकमा राजतन्त्रविरोधी नारा घन्किन्थ्यो । गणतन्त्रको नारा लगाएकै कारण राजद्रोहको अभियोगमा राजेन्द्र ३ महिनाभन्दा बढी जेल परे ।
जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएर ‘हक्की’ देखिएका उनी युवामाझ पनि लोकप्रिय बने ।
एमालेमै छँदादेखि राईलाई हक्की र आफ्नो अडानभन्दा दायाँबायाँ नचल्ने नेताका रूपमा लिइन्थ्यो । उनी र अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध प्रायः सधैँ ३६/६३ को आँकडा जस्तै बन्यो । केपी ओलीलाई अध्यक्ष बनाउने नवौं महाधिवेशनको हलमा राईले ओलीविरुद्ध लेखेको पुस्तक बाँडिएपछि केहीबेर महाधिवेशन नै अवरुद्ध भएको थियो ।
एमाले-माओवादी एकीकरणपछि बसेको नेकपाको केन्द्रीय कमिटी बैठकस्थलमा ओली र प्रचण्डको फोटो टाँगिएको विषय राईले उठाएपछि बैठक हलबाट फोटो हटाइएको थियो । राई सैद्धान्तिक, वैचारिक कुरामा निर्ममरूपमा प्रस्तुत हुने गर्छन् ।
अशोक राईले पार्टी फुटाएर संघीय समाजवादी खोलेपछि नेकपा एमालेले जनजाति नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । सुरूमा उनले त्यो मनोनयन अस्वीकार गरेका थिए ।
वैचारिक राजनीतिक विषयमा प्रष्ट नभइ एकता गरिएको भन्दै एमाले-माओवादी एकताको समेत आलोचक बनेका थिए उनी । सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले ब्युँतिएपछि ओलीसँग मिसिन नहुने धारणा राख्दै आएका थिए । पार्टीको अन्तरसंघर्षमा राजेन्द्र सुरूदेखि नै माधव नेपालको पक्षमा उभिए ।
नेकपाकालमा केपी ओली र प्रचण्डबीच सुरू टकराबको पराकम्पस्वरूप अहिले केन्द्रदेखि प्रदेशसम्मका सबै सरकारमा नेकपा एमाले प्रतिपक्षी बनेको छ । पछिल्लो समयमा माधवकुमार नेपालले नयाँ पार्टी खोलेर एमाले विभाजन भएपछि प्रदेश सरकारहरू धमाधम हल्लिए ।
केन्द्रीय सत्ता गठबन्धनबीच सत्ता बाँडफाँटको सहमतिअनुसार नेकपा एसलाई प्रदेश १ पर्यो । त्यही समझदारीअनुसार प्रदेश १ मा अंकगणितीय हिसाबले १० सांसदसहित चौथो दलको वरीयतामा रहेको नेकपा एसले सरकारको नेतृत्व गरेको छ ।
‘हरि जेठा, इमानी नेता’
२०२६ सालमा बुबा समृदमान राई र आमा मित्रमाया राईको ६ जना छोरा र एक छोरीमध्ये हरिबहादुर राई जेठो सन्तान हुन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ खावाका उनी हाल एमालेको केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज छन् । उनी अविवाहित छन् ।
२०३९ सालबाट विद्यार्थी राजनीति सुरू गरेका राईले २०४० सालमा अनेरास्ववियू एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियू प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।
२०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५-२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे । राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए ।
२०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए । युवा संघमा रहँदा साझा अभिभावकजस्तै बनेका राई अहिले पनि देशभरीका युवाहरूले सम्मानका साथ हेर्छन् ।

राजनीतिक हिसाबले हरिबहादुर राई नेकपा (एमाले) का नेता हुन् । तर, गृहजिल्ला भोजपुरमा सबै पार्टीका साझा नेता जस्तै छन्, उनी । नम्र बोली, निर्दोषपना र विकासे एजेण्डालाई उठाइरहने हरिलाई सबैले मान्नुको कारण हो, ‘इमानदारिता र निष्ठा ।’
पञ्चायत, राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा भोजपुरले थुप्रै सांसद, मन्त्री जन्माएको छ । हरेक क्याबिनेटको प्रभावशाली मन्त्रीमा भोजपुरका नेता प्राय छुट्दैनन् । समकालीन नेताहरूले पटक-पटक अवसर पाउँदा कुनै जिम्मेवारी नपाएका नेता हुन् हरि । निरन्तर पार्टी र आन्दोलनमा सक्रिय भएका उनी यसमा आफ्नो गुनासो नभएको सुनाउँछन् ।
उनी भन्छन्, ‘मेरो जिन्दगी नै पार्टी निर्माण र समाज परिवर्तनमा समर्पित गरेको छु । विद्यार्थी, युवा हुँदै अहिले पार्टी केन्द्रीय कमिटीमा पनि छु । यीनै अनुभवलाई संगाल्दै राजनीतिक परिवर्तन संस्थागत गर्दै विकास र समृद्धिको लागि मेरो उम्मेदवारी हो ।’
एजेण्डा पहिचान कि समृद्धि ? यस्तो छ रोचक सवाल-जवाफ
दुवै उम्मेदवार एउटै समुदाय र एकै पुस्ताका प्रभावशाली युवा नेताको भीडन्तले भोजपुर प्रदेशसभा १ आगामी चुनावी प्रतिस्पर्धाका लागि हटसिट बन्न पुगेको छ । एमाले एकपटक घनेन्द्र बस्नेत बाहेक सधैँ यहाँ जनजाति उम्मेदवार उठाइरहेको छ । कांग्रेसले प्रायः क्षेत्री उठाउँथ्यो ।
गठबन्धनमा रहेका दलहरूको मत खप्टिने कारणले राजेन्द्र राई फराकिलो मतान्तरले चुनाव जित्नेमा ढुक्क देखिन्छन् । एमाले पनि नयाँ अनुहारलाई अघि सारेको, राजेन्द्रले प्रदेशको नामाकरणमा पहिचानलाई अघि सारेकोले खस-आर्यको मत आउने आशमा छ । प्रतिनिधिसभामा सञ्चारमन्त्री तथा मुख्यमन्त्री भइसकेका शेरधन राई र प्रदेशसभा २ मा प्रेम कार्कीको उम्मेदवारीले जातीय सन्तुलन मिलाएकोले हरि राईको मत अझ बढ्ने दाबी एमाले नेताहरूको छ । सँगै असन्तुष्ट कांग्रेसी भोटलाई ‘क्यास’ गर्ने दाउमा पनि छन् उनीहरू ।
भोट माग्दै हिँडिरहेका बेला दुवै उम्मेदवारले अघि सारेका एजेण्डालाई पनि मतदाताले नियालिरहेका छन् । उनीहरूका प्रचारप्रसार भाषणमा केही एजेण्डा मुखरित भएका छन् । राजेन्द्रले पहिचानको मुद्दालाई जोडतोडको रूपमा अघि सारेका छन् भने हरिले समृद्धि, विकास र स्थिरतालाई प्राथमिकता दिइरहेका छन् ।
हेर्नुस् भिडिओ :
राजेन्द्रलाई पुन: मुख्यमन्त्री बनाउने उद्घोषसहित जिल्लाको गठबन्धन यतिखेर मैदानमा छ । अधिकांश भाषणमा उनले आफू किरात प्रदेशमा दृढ रहेको बताएका छन् । केही समयअघि उनले प्रदेशको नाम किरात नभए पदमात्र होइन राजनीति नै छाड्ने बताएका थिए । षडानन्द नगरपालिकाको दिङ्लामा केही दिनअघि गठबन्धनको चुनावी कार्यक्रममा राजेन्द्रले स्थानीय तहको नाम जातीय आधारमा राख्दा, मधेस प्रदेशको नाम राख्दा केही बिग्रिएको छ ? भनी सोधेका छन् ।
‘स्थानीय तहहहरूका नाम कतिवटा जातीय पहिचानका छन् । यहाँ रामप्रसादराई, साकेला गाउँपालिका, कुलुङ दुधकोशी, पाँचथरका त सबै पालिका नाम जातीय आधारमा राखिएको छ केही बिग्रिएको छ ? हामीले नजान्दादेखिका कति नाम छन् तिवारीभञ्ज्याङ, कार्कीगाउँ, बाहुनगाउँ, दमाई टोल, सार्की टोल अनेकौं नाम छन् । कसैले जातीवादी भनेर आक्षेप लगाउनु हुँदैन’, उनले भनेका छन्, ‘किरात जात नभएर सभ्यता हो । २५ पुस्ता सबैभन्दा बढी समय किरातीहरूले शासन गरेको सबैले स्वीकारेको कुरा हो । मैले काठमाडौंकै नाम यो नेपालकै नाम राख्छु त भनेको छैन नि । अहिले सुदूरपश्चिमको चर्चा भएको भए म त्यो प्रदेशको नाम खस राखौं भन्थेँ । त्यतिबेला मलाई खसवादी भन्नुहुन्थ्यो तपाईँले ? जातबाट च्यूत भएको भन्नुहुन्थ्यो ? ४ नम्बरको थियो भने तमुवान गण्डक भन्थेँ म । १ नम्बरको भएकोले पो किरात राखुँ भन्दैछु त ।’
एक महिनाअघि असोज ८ गते राष्ट्रियसभागृह काठमाडौंमा भएको किरात राई यायोक्खाको ११औं महाधिवेशनमा उनले कोशीको पक्षमा दुईतिहाइ सांसदहरूले प्रस्ताव दर्ता गर्न लागेको थाहा पाएपछि आफूले रोकेको बताएका थिए । यदि कोशीको प्रस्ताव दर्ता गराइए संसद नै रोकिदिने भनेर अडान लिएको उनले सुनाएका थिए ।
सभागृहमा उनले राखेको मन्तव्य यस्तो थियो-
दुईपटक पहिचान विपक्षको नाम राख्ने कुरालाई रोक्ने प्रयासमा सहभागी छु र त्यसमा सफलता प्राप्त गरेका छौं । हाम्रो उद्देश्य भनेको प्रयास पहिलो पहिचानसहितको नाम राख्ने हो । त्यो हुन सकेन भने कम्तीमा पहिचानविरोधी नाम रोक्ने नै हो । अहिले पनि संख्या जोड्दा कोशीको पक्षमा दुईतिहाइ पुगिसकेको छ । एक हिसाबले भन्ने हो भने असंवैधानिकजस्तो, मूर्खजस्तो ढंगले म प्रस्तुत भएँ । मसँग सल्लाह नगरी संसदभित्र दर्ता गर्नुभयो भने मसँग एउटा हतियार छ । संसदको हिउँदे र बर्खे अधिवेशन सरकारले रोक्नसक्छ । सरकार भनेको मुख्यमन्त्री हो । बैठक राख्न भ्याइँन भने बाटोमा घुँडामा लेखेर भए पनि यो संसद रोक्दिन्छु म । पहिचानविरोधी नाम पास गराउन दिन्न भनेर बैठक र सार्वजनिक ठाउँमा भनेँ । मेरो त्यही असहमतिका कारण प्रदेशसभामा त्यो नामको प्रस्ताव दर्ता भएन । किरातको पक्षमा नउभिनेलाई फूलबारीमा राख्ने र बलेँसीमा राख्ने कि चुलोमै राख्नुहुन्छ ? भोट पाउँछ जित्छ सांसद बन्छ, मुख्यमन्त्री बन्छ, मन्त्री पाउँदा प्रधानमन्त्रीसम्म बन्छ त्यो ठाउँमा पुगेपछि किरातविरोधी काम गर्छ भने त्यसलाई पनि चुलैमा राख्ने ? म यत्रो गाली खाईखाई किन प्रष्ट बोल्ने ? फेसबुकमा हेर्नुभो भने मैले बोलेको कुरालाई लिएर मेरो सातपुस्तालाई गाली गरिन्छ । मेरो राजनीतिक भविष्य दाउमा छ एउटा निश्चित प्रतिशतले त अब मलाई भोट हाल्दैन यो प्रष्ट छ । भोजपुरमा हिजो मलाई भोट हाल्नेहरू पनि एउटा संख्याले अब मलाई भोट हाल्दैन । पार्टीमा मेरो बोली व्यवहारप्रति प्रश्न उठिरा’को छ ।
किरात जात नभएर सभ्यता भएको उनी बताउँछन् । शासकहरूले कानून र व्यवहारबाट नै संस्कृति लोप गराएको जनजातिलाई विभाजित र विभेद गराएको बताउँछन् ।
‘समाजवादमा जाने मान्छेलाई धनी र सुखी बनाउने हो भने जातीय विभेदलाई अन्त्य गर्ने राज्यले नीति लिनुपर्छ । त्यसका लागि विशेषाधिकार र आरक्षण हुनुपर्छ । कानून बराबरी छ भनेर मात्र हुँदैन । के यो जातीय र नश्लवादी कुरा हो ?’, उनको प्रश्न छ ।
राजेन्द्रको जातीय अभिव्यक्तिले गठबन्धनका घटक सशंकित देखिन्छन् । गठबन्धनको प्रमुख दल कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए, ‘सबै प्रदेशको नामाकरण र राजधानी सकिँदा १ नम्बर प्रदेश अहिले पनि नामविहीन भएकाले मुख्यमन्त्री राजेन्द्र राईमाथि उठ्ने प्रश्नले गठबन्धनलाई घाइते तुल्याउन सक्छ । यसमा हामीले गम्भीर भएर विश्लेषण गर्नुपर्छ ।’
विकासको एजेण्डा उठाउँदै हरि
एमाले उम्मेदवार हरि राई आफ्नो चाहना राजनीतिक पार्टीको नीति, सिद्धान्त बोकेको व्यक्तिसँग प्रतिस्पर्धा गर्ने भएपनि पद र सत्तास्वार्थमा विचारलाई तिलाञ्जली दिएको गठबन्धन र विचार बोकेको पार्टीका साथीसँग प्रतिस्पर्धा गर्नुपर्दा त्यति मजा नलागेको बताउँछन् ।
‘उहाँले अलि बढी सद्भाव भड्काउने अभिव्यक्ति दिइरहनुभएको छ । विकास र स्थायित्वका लागि के गर्ने भन्ने नै छैन’, उनी भन्छन्, ‘पार्टी भनेको दर्शन र सिद्धान्तबाट चल्नुपर्छ, जातीय क्षेत्रीय एजेण्डा बोक्नु हुँदैन । एकल पहिचानका एजेण्डालाई त भोजपुरका जनताले यसअघि नै पराजित गरिसकेका छन् नि ।’

हरिले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकाको लागि संकल्प प्रस्तुत गरेका छन् । उनले समृद्ध षडानन्द, समृद्ध साल्पासिलिछो, समृद्ध टेम्केमैयुङ र अरुणका लागि ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनलगायतका क्षेत्रमा गर्ने कामलाई एजेण्डा बनाएका छन् ।
‘विकासका मेरा एजेण्डा नारामात्र नभएर रोडम्यापसहितको हो । मसँग जनतामाझ जाने स्पष्ट खाका र प्रतिबद्धता छ’, उनी भन्छन् ।
चुनावी अंकगणितः
यो निर्वाचन क्षेत्रमा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका पूरै पर्छन् । टेम्केमैयुङको १ देखि ५ नम्बर वडा यस क्षेत्रमा पर्छन् भने भोजपुर नगरपालिकाका १, २, ३, ४, ५ र १० नम्वर वडा पर्छन् । पौवादुङमा गाउँपालिकाका वडा नम्बर १ र २ पनि यही क्षेत्रमा पर्छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनसँगको प्रतिस्पर्धामा विगतको भन्दा एमालेले केही धक्का खाएको छ । षडानन्द नगरपालिकाको मेयर विगतमा कांग्रेसले जितेकोमा यसपटक गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई हराएर एमालेका सुरेन्द्र उदासले जिते । साल्पासिलिछोमा भने एमालेका बागीले जिते । भोजपुर नगरपालिका मेयर कांग्रेस र उपमेयर एमालेले जित्यो । यहाँ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा एसकी ममिता राईले उपमेयर हारिन् । वडाध्यक्ष भने भोजपुरका ६ वटै वडामा गठबन्धनले जितेको छ । पौवादुङमाको १ मा एमालेले जित्यो भने २ मा गठबन्धनले ।
अघिल्लो चुनाव अध्यक्ष-उपाध्यक्षसहित सानदार ढंगले जितेको एमालेलाई टेम्केमैयुङमा यसपटक चोट पर्यो । यहाँ ध्रुव राईले चुनाव हारे । उनको ठाउँमा गठबन्धनबाट कांग्रेसका सरोज बस्नेतले जिते । उपाध्यक्ष भने एमालेकी रमा राईले जितिन् ।
समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा सत्ता गठन्धनको मत २२ हजार १९६ छ । जसमा कांग्रेसको १४ हजार ४६९, माओवादीको ५ हजार ७५३ र नेकपा एकीकृत समाजवादीको १ हजार ७९४ मतभार छ । नेकपा एमालेको १४ हजार ५४ छ । साल्पासिलिछोमा बिग्रिएको केही मत सुध्रिने, गठबन्धन दलमा देखिएको असन्तुष्टि र आफ्ना एजेण्डाले त्यो मत तान्नसक्ने एमालेको आँकलन छ ।
दुवै गठबन्धनको स्थानीय तहको मत विश्लेषण गर्दा ८ हजार १४२ मतले एमाले पछि छ । तर, प्रदेश सांसदको चुनावमा स्थानीय तहको मत सबै तीनै दलका उम्मेदवारमा नजाने र उम्मेदवारको व्यक्तित्वको पहिचान र एजेण्डाले पनि फरक पार्न सक्छ ।
राजेन्द्र एकपटक जनताबाट टेस्टेड भइसके । चुनावी मैदानमा डेब्यूमा छन् हरिबहादुर । दुवै नेताको क्रियाशीलता लोभलाग्दो छ ।
यी दुवैजना प्रतिस्पर्धा गरिरहेको क्षेत्र शिक्षा र जागरणको हिसाबले प्रदेश १ कै सचेत मतदाता रहेको क्षेत्र हो । नारी अधिकारकी अग्रज योगमायादेखि शिक्षाको ज्योती छर्ने आबाल ब्रम्हचारी षडानन्दको जन्मभूमि हो यो क्षेत्र । यहाँ बाहुन, क्षेत्री र राई, तामाङ, शेर्पा समुदायको मिश्रित बसोबास छ ।

Leave a Reply