काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उडन्ते कुरा मात्रै गरेको टिप्पणी गरेका छन्।
सोमबार नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै काम केही नगरेको आरोप लगाए। उनले बहुमतको सरकार कांग्रेसको बनाउने अवसरको रूपमा मंसिर ४ को निर्वाचनलाई लिएको बताए।
उनले भने, ‘७४ सीटमा गठबन्धनका अन्य दलको उम्मेदवारी छ। ९१ सीटमा कांग्रेसको उम्मेदवार बनाएको छ। हामी सबैलाई थाहा छ गठबन्धन किन र कसरी बनेको भन्ने। ओलीजीले संविधान लत्त्याएर व्यक्तीकरण गर्न खोज्नुभयो राज्य संरचनालाई पनि। त्यहीबाट विद्रोह भएपछि कांग्रेस नेतृत्वको सरकार बन्यो। ओलीजीको घरघरमा ग्यास पानीजहाज रेलको उडन्ते कुरा धेरै भए। उहाँले उडन्ते कुरा गर्नुभयो काम केही भएन।’
कांग्रेसकोे नेतृत्वको सरकार आएपछि ओली सरकारको जस्तै कुनै काण्ड नभएको दाबी गरे।
उनले भने,‘साढे तीन वर्ष ओली सरकारको काम हेरौँ, हाम्रो एक वर्षको काम हेरौँ। त्यहीबाट प्रष्ट हुन्छ। ओलीजी जनताको मतलाई बाँदरको हातमा नरिवल जस्तो बनाउनुभयो। त्यसैले कांग्रेस नेतृत्वमा संविधान र संघीयताको कार्यान्वयन हुन्छ।’
संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको जिकिर गरे। ‘भोलि गठबन्धन नभए सरकार बन्ने अवस्था छैन। कुनै एक दलको बहुमत आउने अवस्था छैन। त्यसले लय मिलिसकेको यो गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि लानुपर्छ’ उनले भने।
उनले एमालेले अहिलेको उपलब्धिलाई समाप्त पर्ने विरुद्ध अघि बढेको आरोप लगाए।

Leave a Reply