काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई पनि स्पष्टीकरण सोधेको छ । इटहरी उपमहानगरपालिका वडा नं १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा हिमालपोष्ट डट कममा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो ।
आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई स्पष्टीकरण
त्यसैगरी, आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई नेपाली काँग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको छ । उनलाई उक्त पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
यसैगरी, आयोगले सहप्राध्यापक डा. पराजुली नेपाली काँग्रेसको पार्टी सचिव रहेको विषयमा पाटन संयुक्त क्याम्पसका प्रमुखलाई स्पष्ट खुलाई दिन भन्दै पत्र पठाएको छ । सहप्राध्यापक भई राजनीतिक गतिविधिमा संलग्न व्यक्ति भए सो विषयको जानकारी हुँदाहुँदै उनलाई क्याम्पसले प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही नगरेको हो ? पत्रमा भनिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र उल्लेखित प्रश्नको जवाफ खुलाई पठाउन भनेको छ ।
शिक्षक चिरञ्जीवी अधिकारीलाई स्पष्टीकरण
यसैबीच, जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय माध्यामिक विद्यालय कुस्माका प्राथमिक तहका शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ । अधिकारीले २०७९ असोज २२ गते आफ्नो फेसबुक स्टाटसमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटसको छायाँप्रतिसहित लिखित उजुरी परेको भन्दै यस्तो निर्देशन दिएको हो ।

Leave a Reply