बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशी विदेशी तत्त्वहरूले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुटाउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षड्यन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको बताए ।
‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरूको एक ठाउँमा उभिएका छौँ’, उनले भने, ‘देशी विदेशी शक्तिहरू गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।’
देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै उनले अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्टाएको बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए ।
भ्रष्टाचार न्यूनीकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिवर्तन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए ।
नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा रहिरहेको बताउँदै १० प्रतिशतमा उकालियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने बताए ।

Leave a Reply