काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आज शनिवार सम्पन्न पार्टीको २० औँ महाधिवेशनले सीलाई तेस्रो कार्यकालको लागि महासचिवको रूपमा चुनेको हो ।
महाधिवेशनले उनीपछिको वरियतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङलाई अवकाश दिएको छ ।
यसै गरी महाधिवेशनले करिब २०० सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिट्ब्युरो समिति समेत चयन गरेको छ । पार्टीमा पोलिट्ब्युरोभन्दा माथि स्थायी समिति हुने प्रावधान रहेको छ ।
तेस्रो कार्यकालको लागि चुनिएसँगै सिले आफूलाई तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गर्न सफल भएका छन् ।
आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुंगो लगाउनेछ। त्यसपछि सीले स्थायी समितिका सदस्यहरूसहित पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
नेतृत्वमा व्यापक परिवर्तन
पार्टीको महासचिव पदमा सी लाई तेस्रो कार्यकालका लागि बाटो खुला भए पनि अन्य नेतृत्वदायी भूमिकामा भने व्यापक परिवर्तन गरिएको छ ।
महाधिवेशनले चयन गरेको नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम समावेश गरेको छैन ।
यसरी नाम समावेश नहुनेमा प्रधानमन्त्री ली खछ्याङ, नेशनल पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष ली चान्सु, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, र उपप्रधानमन्त्री हान चेङ रहेका छन् ।
केन्द्रीय समितिमा नपर्नुको अर्थ उनीहरूले पार्टी वा सरकारमा महत्त्वपूर्ण पद प्राप्त नगर्नु हो ।

Leave a Reply