भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध बागी उठेका कांग्रेस नेता उत्तम चापागाईंले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
शुक्रबार राति विज्ञप्ति निकाल्दै उनले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका हुन् । संविधान कार्यान्वयन र रक्षा गर्ने जिम्मेवारी कांग्रेसकै भएको भन्दै चापागाईंले यसका लागि अन्य दलहरूसँग गठबन्धन गरेर अघि बढ्नु अस्वभाविक नभएकाले पार्टीको निर्णयविपरीत अघि बढ्नु उचित नदेखेको बताएका छन् ।
‘अहिले सत्ता संचालनमा सँगसँगै हिँडेका दलहरूका बीचमा गठबन्धन गरेर चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय छ। तसर्थ पार्टीको एक सिपाहीका हैसियतले मैले निर्णयविपरीत अघि बढ्नु उचित हुने देखिएन । मैले भोजपुर प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । तर नेपालको लोकतान्त्रिक आन्दोलन, संविधानको कार्यान्वयन र रक्षाका खातिर पार्टीको निर्णयविपरीत जानु उपयुक्त देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन् ।
भोजपुर प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई गठबन्धनका साझा उम्मेदवार हुन् । चापागाईंको विज्ञप्ति राख्दै राईले सामाजिक सञ्जाल मात्र ‘धन्यवाद मित्र !’लेखेका छन् ।
बागी उम्मेदवारी दिने चापागाईं नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् । धरातल विचार नगरी केन्द्रले न्यायोचितरूपमा टिकट नबाँडेको भन्दै उनले कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको बताएका थिए ।
गठबन्धनमा भोजपुरको संघ माओवादी, प्रदेशसभा १ नेकपा एस र २ कांग्रेसले पाएको छ । माओवादीबाट सुदन किराँती, एसबाट मुख्यमन्त्री राई र कांग्रेसबाट जिल्ला सभापति विनोद बान्तवा मैदानमा छन् ।
त्यस्तै एमालेबाट संघमा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा १ मा केन्द्रीय सदस्य हरिबहादुर राई र २ मा खड्गबहादुर कार्की उम्मेदवार छन् ।


Leave a Reply