…त्यसपछि भयो कुलमानको चुनाव लड्ने ‘च्याप्टर क्लोज’

काठमाडौं । गठबन्धनको सीट बाँडफाँट चलिरहेका बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौंबाट चुनाव लड्ने चर्चा एकाएक चल्यो । उनी माओवादी पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्ने कुरालाई पार्टी पंक्तिले पनि स्वीकार गरेको थियो ।

कुलमान स्वयंले पनि आफू चुनाव लड्ने सम्भावनालाई भने नकारेका थिएनन् । उनले दलहरूबाट चुनाव लड्न प्रस्ताव आएको बताएका थिए । कुलमान रामेछाप र काठमाडौं दुवैतिर चर्चामा थिए । गृहजिल्ला रामेछापका मझौला तहका नेताहरूले पनि कुलमान पठाए जिताउन सजिलो हुने नेताहरूलाई भेटेरै बताएका थिए ।

कुलमानले त्यसबीचमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग भेटघाट गरेका थिए । ऊर्जामन्त्रालयको एक बैठकमा मन्त्री पम्फा भुसालले कुलमानलाई देखाउँदै ‘उहाँ पनि चुनाव लड्दैछ हुनुहन्छ’ भनेपछि उच्च अधिकारीहरू पनि कुलमान चुनाव लड्दैछन् भन्नेमा थिए ।

तर, सीट बाँडफाँट सकिएर उम्मेदवार छनौट हुँदा कुलमानको नाम कुनै क्षेत्रमा आएन । बरु अनुमानविपरीत काठमाडौं २ मा ओनसरी घर्ती र काठमाडौं ९ मा कल्पना धमला उम्मेदवार बने ।

त्यसो भए कुलमानले टिकट पाएनन् कि लिएनन् ? यो प्रश्नमा माओवादी स्रोतले भन्यो, ‘कुलमानले राखेका सर्त यस्ता थिए कि उनले आफूलाई पाँच दलभन्दा भीमकायरूपमा प्रस्तुत गरे । उनलाई त्यस्तै परे गठबन्धनलेमात्र होइन एमालेले पनि समर्थन जनाउनुपर्ने खालको सर्त राखे ।’

के थियो कुलमानको सर्त ? प्रचण्डसहितका नेताहरूसँग कुलमानका सर्त यस्ता रहेछन् ।

१. म चुनाव लड्ने क्षेत्र आफैँ छान्छु

२. म कुनै दलको चुनाव चिन्हबाट लड्दिन

३. मलाई गठबन्धनका शीर्ष नेताले आग्रह गर्नुपर्छ

४. मलाई चुनाव जितेपछि ऊर्जामन्त्री बनाउनुपर्छ

५. ऊर्जामन्त्री बनाउने लिखित प्रतिबद्धता चाहिन्छ

कुलमानका अधिकांश सर्त प्रचण्डले स्वीकार गरेका थिए । तर, चुनाव जितेपछि मन्त्री बनाउने ग्यारेण्टी पहिले नै दिनुपर्ने र त्यसमा शेरबहादुर देउवा, प्रचण्डलगायतका शीर्ष नेताले सामूहिकरूपमा सहमति जनाउनुपर्ने सर्तमा माओवादी नेतृत्वसमेत इरिटेड भएको थियो ।

कार्यदलमै रहेका एक नेताले भने, ‘कुलमानलाई एउटा सीटमा उम्मेदवार बनाउनसम्म गठबन्धनका शीर्ष नेता सहमत नै थिए । तर, कुलमानविना मुलुक नै नचल्ने पनि होइन । उनका सर्त सुन्दै अचम्मका भए । त्यसैले प्रचण्डले पनि अन्तिममा आजित भएर उनलाई बेवास्ता गर्नुभयो ।’

कुलमानले माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बन्दिन भन्नु उनीमाथि माओवादी नेतृत्वले गरेको भरोसा र गुनमाथिको घातको रूपमा नेताहरूले बुझेका छन् । अझ उनलाई शीर्ष नेताले चुनाव लडिदेऊ भनेर आग्रह गर्नु भनेको आफूलाई कुलमानले चाहिनेभन्दा बढी आत्ममूल्यांकन गरेको बुझाइ छ ।

ती नेताले भने, ‘राधा ज्ञवालीले चिलिमे आयोजनाबाट हटाएपछि छटपटिएर बसेका कुलमानलाई प्रचण्ड र जनार्दन शर्माले प्राधिकरणको नेतृत्व सुम्पिए । काम गर्न सबै स्वतन्त्रता दिए । उनका दाजुभाइ र गिरोह मिलेर अर्बौंको ठेक्कापट्टा कब्जा जमाए पनि उज्यालो नेपालको अभियान असफल हुन्छ भनेर आँखा चिम्लियौं तर आज उनी कृतघ्न भएर माओवादीको चिन्ह लिन पनि पछि हटे । यसले के देखाउँछ भने कुलमानले माओवादीलाई आफ्नो व्यक्तित्व विकास र निजी फाइदाका लागि उपयोग गरेका रहेछन् ।’

कुलमानले एकपछि अर्को असम्भव सर्त थोपरेर राजनीतिक नेतृत्वलाई निरीह र आफूलाई सर्वशक्तिमान देखाउन खोजेपछि उनलाई चुनाव लडाउने च्याप्टर क्लोज भएको माओवादी वृत्तमा चर्चा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *