काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई कसरी थप मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा सोमबार मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेल नेतृत्वको टोली निर्वाचन आयोगमा नै पुगेर अयोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा यस्तो सुझाव दिएको हो ।
निर्वाचन आयोगमा भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य ढुङ्गेलले आसन्न निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।
यस्तै, निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र मानव अधिकारमैत्री बनाउन निर्वाचन अचारसंहिता, शान्ति सुरक्षा, निर्वाचनको अनुगमन तथा पर्यवेक्षण, मतदाता शिक्षा, मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, असक्त, गर्भवतीलगायतका मतदाताको पहुँच, अनुगमनकर्ताको अनुगमनमा सहज पहुँच अनुगमनमा मानव अधिकारसम्बन्धी अन्य संवैधानिक आयोगको भूमिकाको पहिचान, पत्रकार र आमसञ्चारको भूमिका र दुई आयोग बिचको सहकार्य समन्वयलगायतका विषयमा निर्वाचन आयोगको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
त्यसै क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आयोगलाई दिएका सुझाव सिफारिसको कार्यान्वयन गरेको बताउँदै आगामी निर्वाचनमा विगतका कमीकमजोरी नदोहोरिउन भन्नेमा निर्वाचन आयोग सचेत रहेको बताए ।


Leave a Reply