उडेको दुई मिनेटमै जमिनमा बजारिएका थिए प्याराग्लाइडिङ खेलाडी

काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार प्रतिस्पर्धा दौरान ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिम थापा आकाशमा उड्न थालेको दुई मिनेटमै जमिनमा झरेर बजारिएका थिए ।

नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउतले एक सय मिटर माथि नपुग्दै निसिम जमिनमा झरेको बताए ।

‘प्राविधिक कारणले यस्तो हुन्छ। हावाको झोक्कासँग तालमेल नमिलेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान छ’, महासचिव राउतले भने।
२६ वर्षीय थापा व्यावसायिक प्याराग्लाइडिङ पाइलट हुन् । राउतका अनुसार उनले ८र९ वर्षदेखि पोखराको आकाशमा व्यावसायिक उडान भर्दै आएका थिए ।

खेलकुदमा पनि प्याराग्लाइडिङ समावेश हुन थालेपछि उनी खेलाडी बनेका थिए। आठौँ राष्ट्रिय खेलकुद खेलेका थापा १३ औँ राष्ट्रिय खेलकुदमा पनि टोलीमा थिए तर प्याराग्लाइडिङका लागि प्रतिस्पर्धीको न्यूनतम कोटा नपुगेकाले प्रतियोगिता हुन सकेको थिएन ।

यस पटक उनी त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका थिए ।

प्याराग्लाइडिङको क्रस कन्ट्रीमा दोस्रो दिन आइतबार प्रतिस्पर्धा हुँदै थियो। गोरखा स्थायी घर भएका थापा अविवाहित हुन्।

नेपालले चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको एसियाडमा प्याराग्लाइडिङ क्रस कन्ट्रीमा रजत पदक जितेर इतिहास बनाएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *