दाङ । कांग्रेस दाङका नेता, घोराहीका एक जना वडा अध्यक्षका छोरामाथि आफ्नो घरमा काम गर्न राखेकी नाबालिगमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
घोराही १३ का वडा अध्यक्ष डुल्लु पोखरेलका छोरा ऋषि पोखरेलमाथि घरमा काम गर्न बसेकी १४ वर्षीया नाबालिगमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले नाबालिगमाथि बलात्कारको प्रयास गर्ने उद्देश्यले यौन जन्य दुर्व्यवहार गरेको प्रहरीमा उजुरी आएको बताए । पोखरेल नेविसंघ दाङका नेता हुन ।
पोखरेललाई प्रहरीले पक्राउ गरेको छैन । एसपी ओलीले घटना अनुसन्धानका क्रममा रहेको बताए । तर, पोखरेललाई बचाउन जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम लागेको र जाहेरी दर्ता गर्न आलटाल गरेको पीडित परिवार र जिल्ला प्रहरी कार्यालय दाङका एक जना प्रहरी अधिकृतले बताए ।
प्रहरीले जाहेरी दिनका लागि नाबालिग बालिका, उनको आमाबुवालाई प्रहरीले बोलाए पनि पीडकलाई नियन्त्रणमा नलिई बाहिर राखेर बचाउन खोजेको दाङ प्रहरीमाथि आरोप लागेको छ ।
यसअघि मुद्दा फाँटमा लामो समय बसेको र धेरैसँग चिनजान भएकाले डिएसपी गौतम, एसपी ओलीमाथि मुद्दा दर्ता नगर्न कांग्रेस नेताहरूको ठुलो दबाब छ ।
मुद्दा दर्ता नगर्नका लागि दबाब दिन कांग्रेसका जिल्ला, क्षेत्र, नगरका नेताहरू जिल्ला प्रहरी कार्यालय दाङ पुगेका छन् ।
प्रहरीलाई पहुँचवाला र राजनीतिक नेता भएकाले आर्थिक चलखेल गरेर घटना गुपचुपमा मिलाउन लागेको आरोप लागेको छ ।

Leave a Reply