काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि केही नेताको व्यवस्थापन गर्नुपर्ने दबाब छ । तर जुन जुन नेता व्यवस्थापन गर्नु पर्ने हो त्यहि ठाउँमा माओवादीको सशक्त दाबी र मापदण्डबाट समेत माओवादीले पाउने भएपछि नेकपा एसमा निराशा र अशन्तोष छाएको छ ।
आफ्ना नेता व्यवस्थापन गर्नुपर्ने बाध्यता माओवादीले नबुझिदिएको भन्दै प्रचण्डसँग माधव नेपालको खटपट समेत भएको छ । दैनिकजसो छलफल भए पनि निष्कर्षमा नेताहरु पुग्न सकेका छैनन् । माधव नेपालको बाध्यता बुझेर शेरबहादुर देउवाले भने ती क्षेत्रमा दाबी छाडेका छन् ।
वार्ता टोलीका एक सदस्यका अनुसार नेकपा एसका नेताहरु राजेन्द्र पाण्डे,जगन्नाथ खतिवडा,प्रकाश ज्वाला,शेरवहादुर कुँवर,भानुभक्त जोशी र शिव भण्डारीको लागि माधव नेपालले अडान छाडेका छैनन् । अन्य सीटमा भने लगभग सहमति छ ।
राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङ २ मा माओवादीका शालिकराम जमरकट्टेलको सशक्त दावी छ । जमरकट्टेल भावी मुख्यमन्त्रीको ग्यारेन्टी नभएसम्म प्रतिनिधिसभा छाड्ने पक्षमा छैनन् । जबकी मुख्यमन्त्रीका लागि कांग्रेसका प्रदेश सभापति इन्द्र बानिया प्रदेश सभाको उम्मेदवार बन्दैछन् ।
त्यस्तै उपमहासचिव प्रकाश ज्वालाका लागि नेकपा एसले सल्यानमा अडान राखेको छ । तर माओवादीले जितिराखेको क्षेत्र मापदण्ड अनुसार पनि उसैको भागमा पर्ने भएकाले शीर्ष तहमा वार्ता चलिरहेको छ । प्रकाश ज्वालाले कर्णालीमा माओवादी सरकार टिकाउन सांसद पद माया मारेर आफ्नै पार्टीमा विद्रोह गरेका थिए ।
आफूहरुको योगदानको मुल्यांकन हुनुपर्ने नेकपा एसका नेताहरुको भनाइ छ । केन्द्रमा केपी ओलीलाई ढाल्न र प्रदेश सरकारहरुबाट एमालेलाई सबैतिर हटाउन आफूहरु निर्णायक भएकाले त्यसको मुल्यांकन हुनुपर्ने नेकपा एसको भनाइ छ ।
नेकपा एसका अर्का उपमहासचिव जगन्नाथ खतिवडाको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए । माओवादीले त्यहाँ पनि छाड्न मानेको छैन ।
माओवादीले छाड्न नमानेको अर्को क्षेत्र दोलखा पनि हो । दोलखामा माधव नेपालले पूराना नेता शिव भण्डारीलाई व्यवस्थापन गर्न खोजेका छन् । कांग्रेसले रामेछाप लिएर दोलखा माओवादीले लिने चर्चा चलेका बेला नेकपा एसले दोलखाको प्रतिनिधिसभा सीट दावी गरेको छ ।
श्रममन्त्री शेरवहादुर कुँवरको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । अछाम १ मा कुँवरको दावी छ । तर माओवादीले सोही क्षेत्रमा पाउने हुँदा कुँवर बाहिरिनेछन् । उनले बन्द कोठाका षड्यन्त्र नमान्ने भन्दै कलम चिन्ह लिएर जनताबीच आउने बताइसकेका छन् ।
त्यसो काठमाडौं २ माधव नेपालले छाडेपछि ९ नम्बर क्षेत्र उपमहासचिव डा।बिजय पौडेलको लागि नेकपा एसले अडान लिएको छ । तर सो क्षेत्रमा माओवादीका हितमान शाक्य उम्मेवार बन्ने गरी माओवादीले आफ्नो भागमा पार्न लागेको छ ।
बझाङमा भानुभक्त जोशीको सन्दर्भमा भने लगभग सहमति भएको बताइएको छ । कांग्रेसले उल्लेखित सीटहरुमा नेकपा एसका लागि सकारात्मक भए पनि माओवादी नमानेपछि प्रचण्ड माधवबीच खटपट भएको स्रोतले जनाएको छ ।

Leave a Reply