‘राष्ट्रपतिविरुद्ध उपराष्ट्रपति र पूर्वराष्ट्रपतिको वक्तव्यबाजी अनैतिक र अशोभनीय’

काठमाडौं । सत्तारुढ गठबन्धनको बोलीमा लोली मिलाउँदै उपराष्ट्रपति नन्दबहादुर पुनले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध वक्तव्य जारी गरे । ओहदाको हिसाबले आफूभन्दा माथिल्लो स्थानमा रहेको देशकै सर्वोच्च संस्थाविरुद्ध उपराष्ट्रपतिको खुला वक्तव्यबाजीलाई संविधान–कानूनका जानकारहरु आपत्तिजनक बताउँछन् ।

नेपालको संविधानअनुसार उपराष्ट्रपति एउटा सम्मानित संस्थामात्रै हो, जोसित कुनै पनि राजनीतिक अधिकार हुँदैन । राष्ट्रपति देशमा उपलब्ध नरहेको अवस्थामा मात्रै उपराष्ट्रपति पदको काम आउँछ । अन्यथा विभिन्न दिवस र चाडहरुमा सन्देश जारी गर्ने तथा सरकारी समारोहहरुमा उच्चपदस्थका रुपमा हार मिलाएर बस्नेमात्रै हो । यस्तो ‘सेरेमोनियल’ पदमा रहेको व्यक्तिले राष्ट्रपति जोडिएको विषयमा टिकाटिप्पणी गर्न नमिल्ने संविधानविद्हरुको भनाइ छ ।

तटस्थ छविका संविधानविद् डा. भीमार्जुन आचार्य उपराष्ट्रपति पदमा रहेको व्यक्तिले यसरी सार्वजनिक रुपमा प्रतिक्रिया दिनु नै अशोभनीय र अमर्यादित हुने बताउँछन् ।

‘उहाँले यदि राजनीतिक टिप्पणी दिने हो भने पदबाट राजीनामा दिएर हामीजस्तो नागरिक हुनुपर्‍यो । राज्यको सुविधा खाएर सेरेमोनियल पदमा बसेको व्यक्तिबाट आएको यस्तो टिप्पणी आफैंमा आपत्तिजनक छ’, आचार्यले भने ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको अभिव्यक्तिको पनि उनले आलोचना गरे । डा. यादवले नैतिक रुपमा समेत वर्तमान राष्ट्रपतिको विरोधमा बोल्न नमिल्ने आचार्यले बताए ।

‘रुक्मांगद कटवाल प्रकरणमा उहाँले मन्त्रिपरिषदको निर्णय उल्टाउँदा मैले समर्थन गरेको थिएँ । राष्ट्रपति भनेको देशकै अभिभावक भएको हिसाबले संविधानमा लेखिएको नभए पनि देश हितको पक्षमा निर्णय लिने विशेषाधिकार उसलाई हुन्छ भन्ने राजनीतिक दर्शनमा म विश्वास गर्छु । त्यसैले मैले डा. रामवरणलाई साथ दिएको थिएँ । तर, आज उहाँ नै वर्तमान राष्ट्रपतिको आलोचना कुन मुखले गर्दै हुनुहुन्छ ? यो त असाध्यै लाजमर्दो र अनैतिक भयो । म असाध्यै दुःखी छु’, उनले भने ।

आचार्यको भनाइमा राष्ट्र प्रमुखसँग सम्बन्धित विभिन्न दर्शनमध्ये एउटा दर्शनले संविधान र राष्ट्रलाई संरक्षकत्व प्रदान गर्ने दायित्व राष्ट्र प्रमुखसँग हुन्छ ।

‘संविधानमा स्पष्ट नलेखिएको अवस्थामा पनि राष्ट्रपतिले विशेष अवस्थामा राष्ट्रको हितलाई हेरेर विशेष निर्णय लिन पाउँछ’, उनी भन्छन्, ‘त्यही मान्यताका आधारमा मैले कटुवाल काण्डमा स्ट्रङ्ली बोलेको हुँ । कानून मिचेर सरकारले काम गर्दा वा देश हितविपरीत निर्णय लिँदा राष्ट्रपतिले चेक गर्नुपर्छ भन्ने मान्यतामा अहिले पनि म अडिक छु ।’

संविधानविद् आचार्यले सत्ता गठबन्धनका नेताहरुले राष्ट्रपतिविरुद्ध जारी गरेको विज्ञप्ति पनि असंवैधानिक रहेको बताए । प्रधानमन्त्री स्वयंले राष्ट्रपति विरुद्ध सार्वजनिक वक्तव्य निकाल्ने कुरा संविधानमा कल्पना नै नरहेको उनको भनाइ छ ।

‘हाम्रो सिस्टममा प्रधानमन्त्री भनेको राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार पनि हुन्छ । यस्तो भूमिकाको प्रधानमन्त्रीले नै राष्ट्रपतिविरुद्ध विज्ञप्ति निकाल्नु भनेको अराजकताको पराकाष्ठा हो । देउवाले राष्ट्रपतिको सार्वजनिक आलोचना गर्नका लागि पहिले प्रधानमन्त्रीको कुर्सी त्याग्नुपर्छ’, आचार्यले भने ।

राष्ट्रपतिको कदम संविधानविपरीत होइन

डा. आचार्यले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमलाई संविधानको उल्लंघन मान्न नसकिने बताएका छन् । उनले संविधानअनुसार प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै नागरिकता विधेयक निष्क्रिय बनेको तर्क गरे ।

आचार्य भन्छन्, ‘राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने थियो । तर, यहीबीचमा प्रतिनिधिसभाको आयु समाप्त भयो । संसदको कार्यकाल समाप्त भएपछि विचाराधीन विधेयक निष्क्रिय हुने संविधानमा नै लेख्या छ । निष्क्रिय भइसक्या विधेयक कसरी प्रमाणीकरण गर्ने भनेर नगरेको हुनसक्छ । यस्तो भयो भने अब नयाँ प्रतिनिधिसभाले यसलाई अगाडि बढाउने भनेर संविधानमा उल्लेख छ ।’

तर, संविधानमा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा विचाराधीन रहेको विधेयक मात्रै निष्क्रिय हुने उल्लेख छ, राष्ट्रपतिकहाँ पुगिसकेपछि त प्रमाणीकरण नै गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा आचार्यको तर्क यस्तो छः

‘एकछिनलाई मानिलिनुस्, पहिलोपटक राष्ट्रपतिकहाँ विधेयक गएको अवस्था थियो । त्यसमा १५ दिनभित्र प्रमाणीकरण गर्ने वा सन्देशसहित संसदलाई फिर्ता गर्नसक्ने भन्ने संविधानमा उल्लेख छ । अनुमान गरौं कि १५ दिनको अवधि बाँकी रहँदै प्रतिनिधिसभाको कार्यकाल सकियो । त्यो अवस्थामा विधेयक के हुन्थ्यो ? संसदमा सन्देशसहित फिर्ता पठाउन त राष्ट्रपतिले नपाउने अवस्था भयो । अनि के विधेयक प्रमाणीकरण हुन्थ्यो ? पक्कै हुँदैनथ्यो । त्यो यत्तिकै थन्किन्थ्यो र अर्को संसदको विषय बन्थ्यो । त्यसो भएकाले संविधानका यी दुवै व्यवस्थालाई जोडेर हेर्दा राष्ट्रपतिबाट लालमोहर नलागेसम्म कुनै पनि विधेयक विचाराधीन नै मानिन्छ । त्यस्तो भयो भने नयाँ प्रतिनिधिसभाले अगाडि बढाउँछ । संविधानको सबैभन्दा सही व्याख्या यही नै हो ।’

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिटहरु परिरहेका छन् । तर, अदालतले यसमा कुनै अन्तरिम आदेश दिने आधार नरहेको बताउँछन् आचार्य ।

‘सकभर अदालतले यस्ताे विषय ग्रहण नै नगर्दा राम्राे  हुने हाे। तर, के गर्छ भन्न सकिँदैन । नेपालको अदालत वा कुनै पनि क्षेत्रको पूर्वानुमान गर्न कठिन छ’, उनले भने ।

भोलि अदालतले गर्ने संविधानको व्याख्या नै अन्तिम हुने आचार्यको भनाइ छ । ‘हामीलाई चित्त बुझे पनि नबुझे पनि संविधानको अन्तिम व्याख्याता भनेको अदालत नै हो’, उनी भन्छन्, ‘अहिले सबैले आ-आफ्नो मर्यादामा रहेर अभिव्यक्ति दिँदा सबैको भलो हुन्छ ।’

Comments

4 responses to “‘राष्ट्रपतिविरुद्ध उपराष्ट्रपति र पूर्वराष्ट्रपतिको वक्तव्यबाजी अनैतिक र अशोभनीय’”

  1. bharat kumar Thapa Avatar

    ज्यानमारा केटो र भैंसी चराउदै आएको बूढो अपराधीहरू हुन भन्ने उनीहरूको भनाइअनुसार पुष्टि भएको छ।

  2. ksp pyl Avatar
    ksp pyl

    ती पदमा पुग्ने हैसियत नै नभएकालाई पद दिएपछि बाँदरको हातमा नरिवलजस्तो भएको हो ।

  3. Gunadevadhikari Avatar
    Gunadevadhikari

    भीमार्जुन जी ओभर स्मार्ट बन्न खोजेझै महसुस हुन्छ। जाना जानी समय ब्यतित् गरेको बारे पनि केही बोल्दा हुन्थो नी?

  4. देउ प्रकाश राई Avatar
    देउ प्रकाश राई

    संविधानमा सेताेलाई ” सेताे” र कालाेलाई “कालाे” भन्ने मात्रै हुनुपर्छ तर्कसँगत ” सेताे र कालाे” माझमा अरू कुनै रंग हुन्छ भनेर ” सेताे र कालाे”लाई कालाेकाेट धारीहरूले व्याख्या गरिरहेको हाे अहिलेकाे नेपालकाे अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *