समस्या बल्झाउनेगरी टीआरसी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुंग्याउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनीभन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विनापूर्वाग्रह यो विधेयक टुंग्याउनुपर्नेतर्फ जोड दिए ।

‘संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासो छ । यसमा कोही पक्ष र विपक्ष हुन जरुरी छैन । समस्या बल्झाउने गरी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुनेछ’, प्रचण्डले भने ।

उनले विधेयकमा शब्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले गर्ने कार्यान्वयन हुने बताए । मानव अधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने पनि प्रचण्डको माग छ ।

बैठकमा एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुंगाउनुपर्ने सबैको साझा विषय भएकाले यसैपटक टुंगो लगाउनुपर्नेमा जोड दिए । पीडित र पीडकको बीचमा मेलमिलाप र गम्भीर उल्लंघनका विषयमा प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने विषय महत्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयमा निर्विवाद ढंगले अन्तिम रूप दिनुपर्ने उनको भनाइ छ ।

समितिले संसदको यही कार्यकालमा नै उक्त विधेयक पेस गर्ने गरी सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *