सञ्चारसम्बन्धी कानुन छिटो टुंग्याउन पत्रकार महासंघले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न कानुन टुंगोमा पुग्न नसकेको भन्दै नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा ध्यानाकर्षण गराएका हुन् ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनका अनुसार हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

भेटका क्रममा अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुन आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता पनि प्रकट गरेको छ । भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएका छन् ।

महासंघले प्रतिनिधिसभा भंग हुनु अघि नै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्‍याउन पहलका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेट्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *