जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।
सोमबार बसेको जसपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा यादव सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
जसपाको क्षेत्रीय कमिटीले यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि सिफारिस गरेको छ । रामसहाय २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट २८ हजार १८५ मत ल्याएर विजयी भएका थिए ।
सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरिसकेका छन् । राउतको उम्मेदवारी घोषणापछि यादव सुरक्षित क्षेत्र खोज्न थालेको स्रोतको दाबी छ ।
तर, यादव कहाँबाट लड्ने निश्चित भइसकेको छैन । यसअघि धनुषा २ वा पर्सा २ बाट पनि उनलाई चुनाव लड्न नेताहरूले सुझाएका थिए । तर, धनुषा २ को उम्मेदवार सिफारिसमा उनको नाम छैन ।
पर्सा २ मामा पनि अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन । यादव बारा २ बाट चुनाव लडे ७४ मा निर्वाचित रामसहायलाई समानुपातिकमा पठाइने बताइएको छ ।

Leave a Reply