मिथिलामा आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम । तराई/मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने यो पर्व यसपटक तिथि फरक भएपनि हरितालिका तीजसँगै परेको छ ।

चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टीको आधार मानिएको छ । यही विश्वासले मधेसी समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्यरूपले विचार गर्ने चलन रहेको छ ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ । चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवं सूस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।

शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ । यो पर्वलाई ‘चौठचन्द्र’ पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो ।

लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ ।’ हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ ।

मधेसी समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ती गरिन्छ । यस्तो भाकल पाँच-दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरिन्छ । यो पर्व मनाउन परिवारका सदस्य टाढा- टाढाबाट घर पुग्ने गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *