काठमाडौं । नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरू भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।
राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी थिइन् ।
प्रतिनिधिसभासले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको विधेयक हिजोको राष्ट्रियसभा बैठकले विधायन समितिमा पठाउने निर्णय गरेको थियो ।
छलफलमा कसले के भने ?
देवेन्द्र दाहाल
नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ ।
विमला राई पौड्याल
प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।
भगवती न्यौपाने
गहन रूपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।
भैरवसुन्दर श्रेष्ठ
विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयकजस्तो विषयमा छिटो छिटो भनेर हुँदैन । हामीले पहिले पनि संशोधन हालेका थियाैँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ । यसलाई प्रक्रियागत रुपमा लैजाऔँ । लोकतान्त्रमा बहुमत र अल्पमत हुन्छ । बिगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।
प्रमिला कुमारी
जन्मसिद्धको सन्तान अनागरिक छन् । यही कुरा नै मुख्य हो अविलम्ब पारित गरौँ ।

Leave a Reply