समानुपातिकतर्फ मनोनयन दर्ता गर्ने समय सकियो, ७६ दलले दिए निवेदन (कुन प्रदेशमा कति ?)

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता गर्नका लागि निवेदन दिने समय सकिएको छ ।

निर्वाचन आयोगको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने अन्तिम दिन प्रतिनिधिसभातर्फ ३३ दलले निवेदन दर्ता गराएका छन् ।

पहिलो, दोस्रो र तेस्रो तथा अन्तिम दिनमा गरेर आइतबारसम्म प्रतिनिधिसभातर्फ ६८ निवेदनमार्फत ७६ दलले निवेदन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पहिलो दिन शुक्रबार २९ दल र शनिबार दोस्रो दिन १४ दलले निवदेन दर्ता गराएका थिए ।

आयोगका अनुसार प्रदेश सभातर्फ भने अहिलेसम्म प्रदेश एकमा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दर्ता गराएका आयोगका प्रवक्ता शर्माले बताए ।

समानुपातिकतर्फ मनोनयन दर्ता गर्नका लागि निवेदन दिने ३ दिने समय सिमा आइतबार साँझबाट सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलले असोज २ र ३ गते बन्द सूची पेश गर्न पाउने आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *