‘बेनामे जर्नेल’ लिएर आए राजुबाबु

काठमाडौं । गीतकार एवं कथाकार डा. राजुबाबु श्रेष्ठको चौथो कथासङ्ग्रह ‘बेनामे जर्नेल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी र पत्रकार दीपक सापकोटाले संयुक्त रूपमा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

त्यसै अवसरमा राजुबाबुका कथामा टेकेर समकालीन कथा लेखनमाथि विमर्शसमेत भयो । विमर्शमा आख्यानकार पाण्डेले राजुबाबुलाई लामो समयदेखि पढ्दै आएको तथा उनका देशभित्रका मात्र नभई जुनसुकै भूगोलको बलियो कथानक हुने उल्लेख गरे ।

‘वास्तविक जीवनमा आफूले जे भोगे त्यही कुरालाई समाज र राजनीतिसँग जोडेर आख्यान बनाइएकाले संग्रहका कथा चाखलाग्दा छन्’, पाण्डेले भने ।

प्रा.डा. गौतमले कथाकार श्रेष्ठले आफैंले भोगेका अनुभूति कथामा पस्केकाले उनको कथा शक्तिशाली भएको उल्लेख गरे । कुनै पनि कथामा के, कहाँ र कसरीको उत्तर हुनुपर्ने उनको भनाइ छ ।

समालोचक अधिकारीले कृतिमा सीमान्तकृत पात्रहरूका कथाहरू रहेको बताइन् । उनका अनुसार महिलाको मुद्दाबाट हेर्दा राजुबाबुका कथा बलियो रहेका छन् ।

कथाकार राजुबाबुले आफू लेखकभन्दा द्रष्टा (देखक) ज्यादा भएको भन्दै पात्रहरूले घच्घच्याएपछि मात्र कथा लेख्ने गरेको सुनाए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकभित्र पन्ध्र वटा कथा समेटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *