सिबिफिन र एक्यानबीच सम्झौता, देशको आर्थिक समस्याबारे अध्यगन गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्ने भएका छन् । अध्ययनको आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्न नीतिगत बहस तथा पैरवी गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार दुइटै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्नेछन् । नीति नियमको प्रभाव मूल्याङ्कन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्त पहल गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा देहायका विषयहरुमा सरोकारवाला पक्षहरुबीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने, सुझावहरुसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गरिनेछ ।

  • देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्या र समाधानका उपायहरु ।
  • बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु ।
  • स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार ।
  • औद्योगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु । साथै वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनीकरणका उपायहरु ।
  • वित्तीय एवं मौद्रिक नीति/नियम/निर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरु ।
  • चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले सृजना गर्नसक्ने समस्या, असर र समाधानका उपायहरु ।
  • बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवं मौद्रिक नीति, वैदेशिक व्यापार, एफडीआईसम्बन्धी विषयहरू, पूँजी बजार विकास, नीतिगत प्रभाव मूल्याङ्कनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रिय महत्वका आर्थिक एवं वित्तीय कार्यक्रम सञ्चालन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *